Connect with us
Kapilvast Forest

ओलीले मङ्सिर ११ गते चितवनमा रात्रिभोज दिने

२०७८, ५ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दसौँ महाधिवेशनका क्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनका प्रतिनिधिहरूलाई रात्रिभोज दिनुहुने भएको छ । ओलीले मङ्सिर ११ गते राति चितवनको सौराहाको एक होटेलमा रात्रिभोज दिने कार्यक्रम तय भएको महाधिवेशन प्रचारप्रसार समितिका संयोजक तथा वाग्मती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीले जानकारी दिनु भयो । सुवेदीका अनुसार महाधिवेशनको मिति नजिकिँदै गर्दा तयारी तीव्र पारिएको छ ।

 

महाधिवेशन सफल पार्न जिल्लामा निर्माण गरिएका समितिहरुले आफ्ना कामहरु तीव्ररूपमा अगाडि बढाइरहेको उहाँले बताउनु भयो । महाधिवेशनलाई सभ्य र भव्यरूपमा सम्पन्न गर्नका लागि चितवनमा जनपरिचालन, आर्थिक प्रबन्ध, प्रचार, कार्यालय समन्वय, अनुगमन, यातायात प्रबन्धलगायतका समितिहरु निर्माण गरेर काम अगाडि बढाइएको उहाँले बताउनु भयो ।

जिल्लामा निर्माण गरिएको जनपरिचालन समितिको संयोजकमा देवी ज्ञवाली, आर्थिक प्रबन्ध समितिको संयोजकमा जगन्नाथ थपलिया, प्रचार समितिको संयोजकमा विजय सुवेदी, कार्यालय समन्वय समितिको संयोजकमा कपिल पोखरेल, अनुगमन समितिको संयोजकमा काशीनाथ अधिकारी र यातायात प्रबन्ध समितिको संयोजकमा कृष्ण भुर्तेल रहेका छन् ।

आर्थिक प्रबन्ध समितिका संयोजक जगन्नाथ (जेएन) थपलियाले आर्थिक प्रबन्ध समितिलाई पूर्णता दिएर व्यवस्थित ढङ्गले योजना बनाउँदै अगाडि बढेको बताउनु भयो । थपलियाका अनुसार पार्टी पङ्क्तिभित्र र पार्टीका शुभेच्छुकहरुसँग मात्रै आर्थिक सङ्कलन गर्नेगरी काम भइरहेको छ ।

कार्यालय समन्वय समितिका संयोजक एवं नेकपा एमालेका केन्द्रीय सदस्य कपिल पोखरेलले समितिलाई आज पूर्णता दिइने बताउनु भयो । पोखरेलका अनुसार महाधिवेशन प्रतिनिधिहरूलाई बेलुकाको खाना उनीहरु बस्ने होटेलमा नै र बिहानको खाना बन्दसत्र स्थल होटेल सेभन स्टार सौराहामा हुँदैछ ।

प्रचार सहयोग समिति चितवनले स्वागतद्वार निर्माण, कार्यालय व्यवस्थापन, सूचना सम्प्रेषण, प्रचारका सामग्रीहरुको वितरण तथा व्यवस्थाको काम गरिरहेको समितिका सचिव तिलकराम रिमालले बताउनु भयो । जिल्लामा १६ वटा स्वागतद्वार निर्माणको काम सुरु भइसकेको भन्दै सचिव रिमालले जिल्लाका मुख्य राजमार्ग र सहायक राजमार्गमा गरी ३५ वटा स्थानमा स्वागतद्वार निर्माण गरिने बताउनुभयो । समितिले प्रचार सामग्री पालिका र वडा तहसम्म पुर्याउने काम गरिरहेको भन्दै माइकिङको समेत तयारी भइरहेको रिमालले बताउनु भयो ।

जनपरिचालन समितिका संयोजक देवी ज्ञवालीले महाधिवेशनमा व्यापक जनसहभागिता जुटाउने हिसाबले कामलाई तीव्रता दिइएको बताउनु भयो । महाधिवेशनमा जिल्लाबाट सकेसम्म धेरै जनता उतार्ने गरी पालिका र वडाहरूमा समन्वय गरिरहेको ज्ञवालीको भनाइ छ ।

नेकपा एमालेको महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुनका लागि चितवनबाट मात्रै ६०० भन्दा बढी सार्वजनिक सवारीसाधन प्रयोग गरिने यातायात प्रबन्ध समितिका संयोजक कृष्ण भुर्तेलले जानकारी दिनु भयो । महाधिवेशनमा व्यापकरूपमा जनसहभागिता गराउँदै उद्घाटनस्थलमा जनसागर उतार्नका लागि पालिका र वडाको कमिटीसँग समन्वय भइरहेको भुर्तेलले बताउनु भयो ।

महाधिवेशन उद्घाटनका दिन मुख्य राजमार्गमा सवारीको चाप बढी हुने भएकाले यातायात व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग निरन्तर समन्वय भइरहेको भुर्तेलले बताउनु भयो । चितवनमा आउने सवारीसाधनलाई विभिन्न स्थानमा व्यवस्थापन गरिने भन्दै भुर्तेलले केन्द्रीय बसपार्क, बागेश्वरी क्षेत्र, वीरेन्द्र क्याम्पसको नौ बिघा चौर, नेपाल ट्रष्टको कार्यालय बेलचोक, आँपटारीदेखि गोन्द्राङसम्मका विभिन्न स्थानमा सवारीसाधन पार्किङ गर्नेगरी काम भइरहेको बताउनु भयो ।

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनको उद्घाटन सत्र नारायणगढको नारायणी नदी किनारमा हुनेछ भने बन्दसत्र पर्यटकीय नगरी सौराहाको होटेल सेभेन स्टारमा हुनेगरी तयारीको काम अगाडि बढिरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu