बेहुली लिएर फर्केको जिप दुर्घटना, ५ जनाको मृत्यु
डोटी -बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट बेहुली लिएर वडा नम्बर ६ को सेरातर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत कलुवाड मोडमा दुर्घटनामा परेको हो ।
आइतबार राति साढे आठ बजेतिर भएको जिप दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनु भयो ।
मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ वर्षका राजेन्द्रबहादुर चन्द, ३८ वर्षका धनबहादुर चन्द, ६५ वर्षका प्रेमबहादुर चन्द ,६५ वर्षका तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन् ।
घाइते हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ वर्षका हर्कबहादुर चन्द र जिप चालक डडेल्धुराका ४० वर्षीय दीपक माली रहका छन् । उनीहरुलाई उपचारको लागि डडेलधुरा रिफर गरिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । जिप सडकबाट ७ सय मिटर तल खसेको थियो ।