सुवास नेम्वाङले छोडेनन् वरिष्ठ उपाध्यक्षको दाबी
सौराहा-नेकपा (एमाले) को दसौं महाधिवेशनको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिए पनि उहाँले आफ्नै समूहमा सर्वसम्मत गर्न सकस देखिएको छ।
ओलीनिकट नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको दाबी नछोडेपछि ओलीले आइतबार बिहान १० बजे प्रस्तुत गर्ने भनेको सूची अहिलेसम्म तयार हुन सकेको छैन।
आइतबार बिहान ओलीलाई भेट्न थुप्रै नेता कार्यकर्ता उनी बसेको पार्क सफारी रिसोर्टमा आइपुगेका थिए।
बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल पनि दाबी गर्नु भएको छ । ओलीले यसअघि नै नेम्वाङलाई पार्टीले अवसर पाए उहाँलाई राष्ट्रपति बनाउने आश्वासन दिनु भएको थियो । नेम्वाङले भने ओलीको उक्त प्रस्ताव यसअघि नै अस्वीकार गरिसक्नु भएको छ ।
आइतबार बिहान नेम्वाङलाई भेट्न उहाँनिकट नेताहरू पुग्नु भएको थियो । आदिवासी, जनजाति समुदायका एमाले नेता, कार्यकर्ताले नेम्वाङलाई दाबी नछोड्न भनेका थिए।
‘हामीले उहाँलाई आफ्नो दाबी नछोड्नुस् भनेका छौं। पार्टीको दोस्रो वरीयतामा पुग्ने अवसरबाट हाम्रो समुदायलाई वञ्चित नगरियोस् भन्ने हाम्रो भनाइ हो,’ नेम्वाङलाई भेटन आउने एक प्रतिनिधिले भन्न भयो , ‘उहाँको हकमा समावेशी भन्ने जोड्नसमेत पर्दैन किनकी उहाँ राष्ट्रिय छवि भएको नेता हो। तर हाम्रो समुदायले गर्व गर्ने नेता पनि हो नि त।’
नेम्वाङले पनि अध्यक्ष ओलीबाहेक आफूभन्दा माथि कुनै नेता नभएको बताउनु भयो । उहाँले अरू कसैलाई आफूमाथि राखेर सहमति नहुने सन्देश ओलीलाई दिइसक्नुभएको छ ।उहाँले ओलीबाहेक मेरो अरू कुनै नेता छैन भनिसक्नुभएको छ,’ नेम्वाङनिकट स्रोतले भन्यो।