एमाले महाधिवेशन निर्वाचनमा होमियो
सौराहा– नेकपा (एमाले)को सौराहामा जारी १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ।
केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो। यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो।
पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ भने ८ बजेदेखि बिहान ९ः३० बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।
बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए। बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुने कार्यतालिका रहेको छ।
यस्तै बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ। बिहान १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुने कार्यथतालिका रहेको छ।
मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि मतगणना हुनेछ।