राप्रपामा अध्यक्ष, चार उपाध्यक्ष र तीन महामन्त्रीमा निर्वाचन हुँदै
काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा महाधिवेशनमा उम्मेदवारी दर्ता सुरू भएको छ।निर्वाचन समितिका अनुसार शुक्रबार ११ बजेदेखि उम्मेदवारी दर्ता सुरू भएको हो।
निर्वाचन समितिका सहसंयोजक तोरणबहादुर गुरूङका अनुसार उम्मेदवारी दर्ताको समय १ बजेसम्म जारी रहने छ।
त्यसपछि उम्मेदवारीमाथि दाबी विरोध र उम्मेदवारी फिर्ताका लागि समय दिइएको छ।
अपराह्न ५ बजेसम्म दाबी विरोध र फिर्ताको समय तय गरिएको उहाँले जानकारी दिनु भयो ।
अपराह्न ५ बजे सबै उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिने छ। उम्मेदवारको अन्तिम सूची प्रकाशनसँगै शुक्रबारका लागि सबै कार्यक्रम सकिनेछन्।त्यसपछि शनिबार बिहानबाट मतदानको कार्यक्रम राखिएको गुरूङले बताउनु भयो ।
राप्रपा महाधिवेशनमा चार हजार चार सय ७१ जना मतदाता छन्।राप्रपा पदाधिकारीमध्ये अध्यक्ष, चार उपाध्यक्ष र तीन महामन्त्रीका लागि निर्वाचन हुने भएको छ।
एक सय ९९ सदस्यीय केन्द्रीय कार्य समितिमध्ये एक सय ४९ जनाका लागि निर्वाचन हुँदैछ भने बाँकी निर्वाचित अध्यक्षबाट मनोनित हुन्छन्।सहमहामन्त्री ७ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता पनि निर्वाचित अध्यक्षबाट मनोनित हुने व्यवस्था छ।अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच भिडन्त हुँदैछ।