Connect with us
Kapilvast Forest

मणिपाल कलेजले असुल्यो ६ लाख अतिरिक्त शुल्क

२०७८, २१ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडौँ — पोखरास्थित मणिपाल मेडिकल कलेजले एमबीबीएस भर्ना हुन गएका विद्यार्थीसँग ६ लाख रुपैयाँका दरले अतिरिक्त शुल्क उठाएको विद्यार्थीले गुनासो गरेका छन् । मेरिट र म्याचिङअनुसार मणिपालमा भर्नाका लागि छानिएका विद्यार्थीले चिकित्सा शिक्षा ऐनअनुसार पहिलो किस्ताबापतको शिक्षण शुल्क विश्वविद्यालयको खातामा जम्मा गरिसकेका छन् ।

 

खान र बस्नबाहेक मेडिकल कलेजले विद्यार्थीसँग शुल्क लिनु गैरकानुनी हो । होस्टलमा खाने र बस्ने पनि विद्यार्थीको ऐच्छिक विषय हो । मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षामा पास भएर विश्वविद्यालयमै भर्ना भएर पढ्न गएका विद्यार्थीसँग पनि अतिरिक्त शुल्क मागेको अभिभावकले बताएका छन् ।

 

एमबीबीएसलगायत चिकित्सा शिक्षाको नयाँ शैक्षिक सत्र आइतबार सुरु भएको छ । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएका अधिकांश मेडिकल कलेजले बढी शुल्क लिन ‘मोलमोलाइ’ गरेको अभिभावक र विद्यार्थीले बताएका छन् । मणिपालले पनि काठमाडौं विश्वविद्यालयबाटै सम्बन्धन पाएको हो । मणिपालले खेलकुद, सूचना प्रविधि शीर्षकमा २० हजार, डकुमेन्टेसन शुल्क २ हजार, धरौटीबापत २ लाख ३०, काठमाडौं विश्वविद्यालय रजिस्ट्रेसनबापत २५ हजार, नेपाल मेडिकल काउन्सिल शुल्क ५ हजार, होस्टल फर्निसिङ शीर्षकमा २० हजार, होस्टलबापत १ लाख ३८ हजार, मेस शुल्क १ लाख ५० हजार, इन्स्योरेन्स र मेडिकेयर शीर्षकमा ६५ हजार शुल्क लिएको एक छात्राले गुनासो गरिन् । त्यसबाहेक परीक्षा शुल्क भनेर छुट्टै मागिएको छ ।

‘पहिलो किस्ताबापतको १३ लाख ४१ हजार ८३ रुपैयाँ काठमाडौं विश्वविद्यालयको खातामा जम्मा पारेर आयौं,’ ती छात्राले भनिन्, ‘होस्टल र खानाबाहेक अरू पैसा लाग्दैन भनिएको थियो, होस्टल बस्न पनि अनिवार्य छैन भनिएको थियो तर विभिन्न शीर्षकमा पैसा मागिएको छ । पैसा नबुझाएसम्म कक्षामा नै जान दिएका छैनन् ।’ होस्टल बस्नुपर्ने बाध्यकारी नियम लागू गरिएको उनले बताइन् ।

विद्यार्थीसँग अतिरिक्त शुल्क उठाएपछि अनेरास्ववियु र नेसनल मेडिकल स्टुडेन्ट एसोसिएसनले मणिपाल मेडिकल कलेजमा तालाबन्दी गरेका छन् । चिकित्सा शिक्षा संघर्ष अभियानका संयोजक तथा एमबीबीएसका विद्यार्थी मनीष भट्टराईले मणिपालले प्रतिविद्यार्थी ६ लाख रुपैयाँका दरले बढी शुल्क लिएको जानकारी दिए । ‘मेडिकल कलेजले नयाँ भर्ना हुन आएका विद्यार्थीसँग गैरकानुनी रूपमा ठगी गरिरहेका छन्,’ उनले भने । एसोसिएसनका अध्यक्ष सुजन कडरियाले चिकित्सा शिक्षा ऐन जारी भएर आयोग बनिसक्दा पनि मेडिकल कलेजहरूले विगतको जस्तै ‘लुटतन्त्र’ चलाएको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘अहिले मणिपालले बढी शुल्क लिन नै थालिसकेको छ,’ उनले भने, ‘अरूले पनि मागिरहेको सुनेका छौं, त्यसको प्रतिवाद गर्छौं ।’

 

चिकित्सा शिक्षा आयोगले सूचना जारी गरेर ऐनमा तोकिएकोबाहेक विद्यार्थीसँग थप शुल्क नलिन मेडिकल कलेजहरूलाई सचेत गराएको छ । ऐनमा शिक्षण शुल्क भन्नाले शिक्षण संस्थाले चिकित्सा शिक्षा अध्ययन अवधिभरमा लिने भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम, परीक्षासमेत रहने भनी परिभाषित गरेको छ । तर मेडिकल कलेजहरूले विद्यार्थीबाट अनेक शीर्षकमा ‘चोरबाटो’ बाट अवैध रूपमा शुल्क उठाएको विद्यार्थी/अभिभावकको गुनासो छ । अन्य शुल्क लिनुपरे पनि आयोगको स्वीकृतमा मात्रै लिन पाउने ऐनमा व्यवस्था छ ।

मेडिकल कलेजले भने स्वीकृतिबिनै मनोमानी रूपमा शुल्क उठाउने गरेका छन् । आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले पनि शुल्कका विषयमा गुनासो आएको स्वीकारे । सम्बन्धित विश्वविद्यालयको समन्वयमा ती गुनासोका सम्बन्धमा छानबिन गर्ने बताए । आयोग बन्नुअघि नै मेडिकल कलेजहरूले विद्यार्थीबाट ३ अर्ब रुपैयाँभन्दा बढी अतिरिक्त शुल्क उठाएको राष्ट्रिय सतर्कता केन्द्रले दुई वर्षअघि गरेको छानबिनले औंल्याएको थियो तर शुल्क फिर्ता वा त्यस्तो शुल्क लिने मेडिकल कलेजलाई अहिलेसम्म कारबाही हुन सकेको छैन ।कान्तिपुर 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu