कांग्रेसले महाधिवेशनका लागि २५ लाख खर्च गरेर मञ्च बनाउँदैछ
काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनका लागि प्रचारप्रसार र मञ्च व्यवस्थापनको काम सुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा झन्डा र प्रचार व्यानर राखेर प्रचारप्रसार गर्ने तथा मञ्च, स्वागत गेट र परिसर निर्माण गर्ने कार्य सुरू भएको हो । पार्टीको प्रचार विभागका प्रमुख एवम् प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार झन्डा र व्यानरहरू टाँगेर प्रचारप्रसार प्रारम्भ गर्नु भएको छ ।
प्रवक्ता शर्माले पार्टीको महाधिवेशनका लागि सबै खाले तयारी अघि बढाएको जानकारी दिनुभयो । ‘देशभरिबाट प्रतिनिधिहरू आउनेक्रम सुरु भएको छ, आवास, खाद्यान्न, स्वास्थ्य सुरक्षा र प्रचारप्रसारलगायत विषयमा हामीले अन्तिम तयारी गरिरहेका छौं,’ उहाँले भन्नु भयो ‘आजदेखि महाधिवेशनस्थलमा समेत प्रचारप्रसारको काम थालिएको छ ।’ मञ्च व्यवस्थापन समितिले काम थालेको छ भने प्रचारप्रसार समितिले झन्डा र व्यानर राखिरहेको छ । प्रचारको कामका लागि सयौंको संख्यामा स्वयंसेवकहरू परिचालित छन् ।
कांग्रेसले महाधिवेशनको सन्दर्भमा काठमाडौंमा करिब १० हजार झन्डा फहराउने भएको छ । करिब ८० मिटर लम्बाई र ४० मिटर चौडाई रहेको मञ्च निर्माण गर्न लागिएको कांग्रेसका काठमाडौंका सचिव गोविन्द पुडासैनीले जानकारी दिनु भयो ।
‘हामीले ८० ४० को मञ्च बनाउँदैछौं, जहाँ तीन स्टेप हुन्छ । अगाडिको भागमा सांस्कृतिक संघले प्रस्तुत गर्ने नृत्यहरू प्रस्तुत हुन्छन् । पछिका तीन स्टेपमा नेताहरू र पाहुनाहरूलाई बसाइन्छ,’ उहाँले भन्नु भयो , ‘मञ्चभित्र र बाहिर ४–५ ठाउँमा श्रव्यदृश्यको व्यवस्था गर्दैछौं ।’
उहाँले बिहीबारसम्ममा सबै तयारी पूरा गर्ने गरी काम गरिरहेको बताउनु भयो । ‘समय थोरै मात्र छ, अब हतारमा नै काम गर्नुपर्ने भएको छ, रातदिन गरेर काम गर्दैछौं,’ उहाँले भन्नु भयो । मञ्च व्यवस्थापन समितिका अनुसार मञ्चमै मात्रै करिब २५ लाख रुपैयाँ खर्च हुनेछ । कांग्रेसको १४ औँ महाधिवेशन आगामी शुक्रबारदेखि सुरु हुँदैछ ।