Connect with us
Kapilvast Forest

१३४ पदमा उम्मेदवारी दर्ता आज

२०७८, २५ मंसिर शनिबारमा प्रकाशित

काठमाडौँ- नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया शनिबार सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यको निर्वाचन हुनेछ ।

उहाँका अनुसार निर्वाचनको प्रक्रिया शनिबार बिहान सुरु हुनेछ । उहाँले भन्नुभयो, “काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शुक्रबार उद्घाटनसत्र र बन्दसत्र सम्पन्न भएको छ । शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।” मनोनयनमाथिको दाबीविरोध र नाम फिर्ताका लागि मङ्सिर २६ गते आइतबार दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उहाँले भन्नुभयो, “आइतबार अन्तिम नामावली प्रकाशन गरेपछि २७ गते सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।”

नेपाली काँग्रेसको विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुन्छ, जसमा १४औँ महाधिवेशनले १३४ जनालाई निर्वाचित गर्नेछ । सभापति एक, उपसभापति दुुई, महामन्त्री दुुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुने घिमिरेले बताउनुभयो । त्यसैगरी १२१ जना केन्द्रीय सदस्य निर्वाचनबाट छानिने छन् । केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था काँग्रेसको विधानमा छ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।

चार हजार ७४३ प्रतिनिधि
काँग्रेसको नयाँ नेतृत्व चयनका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार ७७ जिल्ला, भ्रातृ सङ्गठन, शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूबाट महाधिवेशन प्रतिनिधि छानिएर आएका हुन् ।

सभापतिका लागि ३० हजार शुल्क

नेपाली काँग्रेसका पदाधिकारीमा उम्मेदवारी दिन छुट्टा–छुट्टै शुल्क निर्धारण गरिएको छ । सचिव शर्माका अनुसार सभापति पदका उम्मेदवारले ३० हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ । उहाँले भन्नुभयो, “उपसभापति र महामन्त्री २५–२५ हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ । सहमहामन्त्री पदका उम्मेदवारले २० हजार रुपियाँ र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ ।”

अलग–अलग मापदण्ड
नेपाली काँग्रेसको सभापति, पदाधिकारी र केन्द्रीय सदस्य बन्न अलग–अलग मापदण्ड तोकिएको छ । विधानअनुसार ‘केन्द्रीय महाधिवेशनका प्रतिनिधिले कम्तीमा १५ वर्ष निरन्तर नेपाली काँग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापति निर्वाचित हुनेछन् ।

कम्तीमा १० वर्ष निरन्तर क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट उपसभापति र महामन्त्री निर्वाचित गर्ने प्रावधान विधानमा छ । सहमहामन्त्री पदको उम्मेदवार बन्न पनि १० वर्ष क्रियाशील सदस्य भएको हुनुपर्नेछ । विधानअनुसार १० वर्ष केन्द्रीय महाधिवेशनका प्रतिनिधि भएका मध्येबाट महिला, आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक गरी आठ जना सहमहामन्त्री निर्वाचित हुनेछन् ।

केन्द्रीय कार्यसमिति सदस्य पदमा प्रत्यक्षतर्फ ३५ जना सदस्य निर्वाचित हुनेछन् । महिलातर्फ नौ जना प्रत्यक्ष निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट एक महिलासहित तीन जना केन्द्रीय कार्यसमितिका लागि सात प्रदेशबाट २१ जना प्रत्यक्ष निर्वाचित हुनेछन् ।
दलिततर्फ चार महिलासहित नौ जना, आदिवासी जनजातितर्फ सात महिलासहित १५ जना, खसआर्यतर्फ छ महिलासहित १३ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । मधेसीतर्फ चार महिलासहित नौ, थारुतर्फ दुई महिलासहित चार, मुस्लिमतर्फ एक महिलासहित तीन र पिछडिएको क्षेत्रबाट एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

अल्पसङ्ख्यक र अपाङ्गता भएकातर्फ एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । विधानमा केन्द्रीय कार्यसमितिमा एकतिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था छ । विधानमा भनिएको छ, “समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनीत गरिनेछ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu