Connect with us
Kapilvast Forest

तुलसीपुरमा २५ करोडको टावर निर्माण गर्न ८ निर्माण कम्पनीले भरे फारम

२०७८, २ पुष शुक्रबारमा प्रकाशित

दाङ-तुलसीपुरमा निर्माण हुने ‘तुलसी ट्रेड टावर’ निर्माण गर्न आठ वटा निर्माण कम्पनीले फारम भरेका छन्।उपमहानगरपालिकाले निर्माण गर्न थालेको ६ तले बहुउद्देश्यीय व्यापारिक भवन निर्माणका लागि टेण्डर आह्वान भएको थियो।

मंसिर १६ गतेसम्मको अन्तिम समय सीमा राखेर इबिडिङमार्फत टेण्डर आह्वान भएकोमा ८ वटा निर्माण कम्पनीबाट फारम आएको उपमहानगरपालिकाका इञ्जिनियर पवन योगीले जानकारी दिनु भयो ।

परेका फारमको मूल्यांकन गरी टेण्डर स्वीकृत गर्न भने बाँकी नै छ। फारम मूल्यांकन गर्न अझै एक डेढ महिना समय लाग्न सक्ने इञ्जिनियर योगीले बताउनु भयो ।नगर विकास कोषको लगानीमा अरनिको डिजाइनबाट डिपिआर भएको ‘तुलसी ट्रेड टावर’ नगर विकास कोषको ६० प्रतिशत ऋण सहयोग र उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण गर्न थालिएको छ।

कुल लागत २५ करोड ३१ लाख ९५ हजार ६२ रुपैयाँ रहने इञ्जिनियर योगीले बताउनु भयो ।उपमहानगरपालिकाको सम्मुख उत्तरतर्फको पुरानो सब्जिमण्डी रहेको उपमहानगरपालिकाको नाममा दर्ता स्रेस्ता रहेको १० कठ्ठा क्षेत्रफलमा तुलसी टावर निर्माण गर्न थालिएको छ।सम्झौता भएको मितिले ३ वर्षभित्रमा निर्माण पूरा गरी सक्ने लक्ष्य राखिएको छ।६ तले टावरको पहिलो तलामा पार्किङको सुविधा छ।

त्यस्तै, दोस्रो तला व्यापारिक प्रयोजनका लागि तेस्रो तला उपमहानगरको कार्यालय प्रयोजनका लागि, चौथो तलामा रेष्टुरेण्ट सञ्चालन, पाँचौं तलामा बहुउद्देश्य सभाहल र छैठौं तला उपमहानगरका ‘स्टाप रूम’का रूपमा निर्माण गर्न थालिएको इञ्जिनियर योगीले जानकारी दिनु भयो ।

‘तुलसी टावर’मा दुइटा लिफ्ट र एउटा इलिभेटर (भर्‍याङसहितको विद्युतबाट चल्ने सिँढी) पनि राखिने भएको छ।जिल्लामा हालसम्म इलिभेटरसहितको सरकारी कार्यालय निर्माण भएको छैन। हालसालै निर्मित दाङ जिल्ला अदालतमा भने लिफ्ट राखिएको छ।

जिल्ला अदालत हालसम्मको जिल्लाको अत्याधुनिक भवन मानिएको थियो। तर, अब ‘तुलसी टावर’ निर्माण पूरा भएपछि यो नै जिल्लाको सबभन्दा आधुनिक सरकारी कार्यालय बन्ने देखिएको छ।तुलसी टावरको सबभन्दा माथिल्लो तलामा तुलसीपुरको पहिचान झल्काउने गरी आकर्षक रूपमा अंग्रेजीमा ‘टी’ अक्षर लेखिने मेयर घनश्याम पाण्डेले बताउनु भयो ।

निर्वाचनको समयमा आफूले जितेपछि मेयर पाण्डेले तुलसीपुरमा आधुनिक ‘तुलसी टावर’ निर्माण गर्ने बताएका थिए। त्यही भएर आफ्नो कार्यकालको चिनोको रूपमा मेयर पाण्डेले टावर निर्माण गर्न चाहेका हुन्।

तर, कतिपय आलोचक भने टावरभन्दा पनि तुलसीपुरका सबै वडामा स्तरीय स्वास्थ्य सेवा, शिक्षा, खानेपानी, सडक निर्माणमा ध्यान दिन आवश्यक रहेकोमा टावर निर्माण गरेर इतिहास बनाउँछु भन्ने चिन्तनलाई सही मान्न नसकिने बताउँछन्।

‘तुलसीपुरबाट घाइते वा बिरामी दिनहुँ बाँके र भैरहवा रिफर गर्नुपर्ने अवस्था छ,’ एक जना अधिकारकर्मीले भने, ‘त्यो समस्या समाधान गर्न पहिला स्थानीय सरकारले गतिलो अस्पताल निर्माणतर्फ ध्यान दिएको भए झनै राम्रो हुने थियो।’

आधारभूत आवश्यकताको परिपूर्ति भइसकेपछि यस्ता टावर निर्माण गर्न ध्यान दिएको भए झनै सान्दर्भिक हुने उहाँको भनाइ थियो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu