क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमा प्रचण्ड असन्तुष्ट, प्रधानमन्त्रीको गराए ध्यानाकर्षण
काठमाडौं- नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनु भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर प्रचण्डले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीबारे ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनु भयो ।
‘प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष प्रचण्डले क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भयो भन्दै ध्यानाकर्षण गराउनु भयो,’ मल्लले भन्नु भयो ।
गत मंसिर २९ गते नेपाल क्रिकेट संघ ९क्यान०ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको थियो ।
मल्लका अनुसार माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई कांग्रेस सभापतिमा निर्वाचित भएकोमा बधाईसमेत दिनु भएको थियो ।
भेटको अवसरमा सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।