विद्युत्को खपत बढाऔँ : कुलमान घिसिङ
काठमाडौं-नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थामा विद्युत्को खपत बढाउने चुनौती रहेको बताउनु भयो । भक्तपुर ख्रिसमस समाजले ख्रिसमस र आंग्रजी नयाँ वर्ष २०२२ का अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्मान ग्रहण गर्दै उनले पहिलो कार्यकालमा लोडसेडिङ हटाउने चुनौती रहेकामा अहिले विद्युत्को खपत बढाउनुपर्ने बताउनु भएको छ ।
उहाँले विद्युतको खपत बढाउन आग्रहसमेत गर्नु भयो । “कुनै बेला बिजुली कहिले आउँछ भन्ने अवस्था थियो, अहिले विद्युत् कसरी खपत गर्ने भन्ने चुनौती छ”, उहाँले भनु भयो “आम नागरिकलाई विद्युत्को खपत बढाउन आग्रह गर्दछु ।”
आफू एक्लैको प्रयासले नभई समूहका सबैको सहकार्य र परिश्रमले नेपालमा लोडसेडिङको अन्त्य गर्न सम्भव भएको स्पष्ट पार्दै घिसिङले त्यसको जस सबैलाई जाने बताउनु भयो । “म एक्लैको प्रयासले लोडसेडिङ अन्त्य भएको होइन, मैले मेरो कर्तव्य र जिम्मेवारी इमान्दारिपूवर्क निर्वाह गरेको हुँ, यसमा सबैको साथ र सहयोगका साथै उत्तिकै मेहनत र परिश्रम पनि रहेको छ”, उहाँले भन्नु भयो ।