बुटवलमा चौथो औद्योगिक व्यापार मेला शुरु
रुपन्देही-रुपन्देहीको बुटवलमा आजदेखि चौथो औद्योगिक व्यापार मेला शुरु भएको छ । ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधिकरण’ नाराका साथ शुरु भएको मेला बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नु भएको हो ।
व्यापार संघ बुटवलको आयोजनामा देवीनगरमा सञ्चालित मेलालाई सम्बोधन गर्दै सुवेदीले बुटवल उपमहानगरमा लगानीमैत्री वातावरण बन्दै गएको बताउनु भयो । उनले विश्व बैंकको सूचकाङ्कले नै बुटवल लगानीका लागि सुरक्षित नगरमा सूचीकृत भएको बताउनु भयो।
सो अवसरमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र बिना मुलुकको आर्थिक विकास र समृद्धि सम्भव नहुने भएकाले राष्ट्रिय पूँजीमार्फत औद्योगीकरण र व्यापार विविधीकरणमा सरकारको ध्यान जानुपर्ने बताउनु भयो ।
मेला आयोजक संघका अध्यक्ष गोविन्दराज गैरेले कोभिड महामारीका कारण उद्योगी व्यवसायी मारमा परेपनि सरकारले राहत दिन नसकेको गुनासो गर्नु भयो । राज्यले लगानीमैत्री वातावरण ध्यान दिन उहाँले आग्रह गर्नु भयो ।
मेला उद्घाटनका अवसरमा नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङ, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य पंकज राई, माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसी, नेपाली काँग्रेसका जिल्ला सदस्य हरि अर्याल, नगर सभापति खेलराज पाण्डे, एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवाली, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू लगायतले सम्बोधन गर्नु भएको थियो ।
पुस २० गतेसम्म चल्ने मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र पर्यटनका ४ सय ७० स्टल रहेका छन् । संघका महासचिव पदम जिसीले मेला अवधिभर करिब ५० करोड बराबरको कारोबार गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।