Connect with us
Kapilvast Forest

किसानलाई आलु रोप्ने चटारो

२०७८, १२ पुष सोमबारमा प्रकाशित

 

दोलखा — हिउँदे वर्षा र हिमपातले कतिलाई कष्ट दिन्छ, कतिलाई हिउँ खेल्ने रमाइलो । तर उच्च हिमाली क्षेत्रमा बसोबास गरेर आलु रोप्न पर्खिबसेका किसानलाई भने हिउँदे वर्षा र हिमपातले खुसी दिन्छ । जिल्लाको भीमेश्वर नगरपालिका–८ खानीडाँडाका किसान मनोजकुमार श्रेष्ठ वर्षा भएपछि आलु रोप्न हाते ट्र्याक्टर लिएर बारी खनजोतमा जुटेका छन् ।

 

दोलखाको शैलुङ गाउँपालिका–१ भुषाफेदामा आलु रोप्न बारी तयार पार्दै किसान । तस्बिर : केदार/कान्तिपुर

आलु रोप्ने सिजन नजिकिए पनि वर्षा र हिमपात नहुँदा उनी बीउ कुहिने र टुसा पलाएर खेर जाने चिन्तामा थिए । बारी खन्ने सुरसार गरेपछि भएको वर्षाले थोरै भए पनि राहत महसुस गरेको उनले बताए । उनको मुख्य आम्दानीको स्रोत पनि आलु खेती नै हो । ‘समय घर्किंदै गएको थियो, पानी नपरेपछि सुक्खा बारीमा आलु रोप्ने सोचमा थिएँ,’ उनले भने, ‘बारी खन्ने बेलामा पानी पर्‍यो केही राहत भएको छ ।’

वर्षा र हिमपात सुरु भएसँगै जिल्लाको उच्च हिमाली क्षेत्रका किसान आलु रोप्न बारी खन्न लागेका छन् । कतिपय किसानले आलु रोप्नलाई यसअघि नै बारी खनिसकेका थिए । ‘गत वर्ष हिउँदे वर्षा कम भयो, आलु उत्पादन पनि घट्यो,’ उनले भने, ‘हाम्रो परिवार चलाउन मुख्य स्रोत नै आलुखेती हो ।’ वर्षमा ७ लाख रुपैयाँसम्मको आलु बेच्ने गरेको उनले जनाए । यो साता परेको सामान्य वर्षा र हिउँले बारीमा चिस्यान पसेको उनले बताए ।

उच्च हिमाली क्षेत्रमा पुस अन्तिमबाट आलु रोप्न सुरु हुन्छ । गत शुक्रबारदेखि जिल्लाको उच्च हिमाली भेगमा वर्षा र हिमपात हुन थालेको हो । जिल्लाका नौ वटै स्थानीय तहका उच्च हिमाली क्षेत्रमा आलुखेती हुने गरेको छ । हिउँदमा रोपेको आलु साउन पहिलो साताबाट खन्ने गरिन्छ । वर्षा र हिमपातले आलु रोप्ने बेला खुसी दिएको किसान हर्कबहादुर बाँडाको भनाइ छ ।

‘हिमपातले चिसो बढेर धेरैलाई दुःख र कसैलाई रमाइलो देला,’ उनले भने, ‘हाम्रा लागि त सिँचाइको मुख्य आधार नै यही हो ।’ गत वर्ष पर्याप्त हिमपात र हिउँदे वर्षा नहुँदा आलु उत्पादनमा ह्रास आएको उनले बताए । ‘वर्षमा ५/७ लाख रुपैयाँको आलु बेच्छु,’ उनले भने, ‘गत वर्ष समयमै हिमपात वर्षा नहुँदा उत्पादन भएन ।’ यस वर्ष समयमै वर्षा र हिमपात सुरु भएकाले आलु उत्पादन राम्रो हुनेमा उनी आशावादी छन् । माथिल्लो भेगमा आलुबाहेक अन्य बाली उत्पादन हुँदैन । शैलुङ गाउँपालिका र भीमेश्वरका नगरपालिकका किसानले बन्दा काउली लगाएर आम्दानी लिएपछि आलु रोप्न बारी तयार पार्ने गरेका छन् ।

 

जिल्लाको सबैभन्दा बढी शैलुङ क्षेत्रबाट आलु बाहिरी जिल्लामा जाने गरेको छ । उक्त क्षेत्रको २८ सय हेक्टरमा किसानले हिउँदमा आलु रोपेर साउनमा खन्ने गर्छन् । जिल्लाको १९ सय मिटरदेखि ४१ सय मिटरसम्ममा आलु खेती गरिन्छ । जिल्लाको ७५ हजार हेक्टर उच्च हिमाली क्षेत्रमध्ये १९ हजार हेक्टर क्षेत्रफलमा आलुखेती गरिन्छ । जिल्लाबाट वार्षिक ६५ करोड रुपैयाँको आलु बाहिरी जिल्ला जाने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu