Connect with us
Kapilvast Forest

देवघाट मेलाको तयारी तिव्र

२०७८, २१ पुष बुधबारमा प्रकाशित

चितवन-नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र पारिएको छ । मेला व्यवस्थित गर्न तीनवटै जिल्लामा गरी ७५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

देवघाट मेला व्यवस्थापन मूल समितिको मङ्गलबार भरतपुरमा बसेको बैठकले मेलालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेबारे छलफल भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी अशमान तामाङले देवघाट मेलालाई व्यवस्थित गर्न नवलपुर र तनहुँसँग समन्वय गरी काम थालिएको बताउनुभयो । ‘माघे सङ्क्रान्ति मेलाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्छौं’, उहाँले भन्नुभयो, ‘स्नानको समयमा कुनै दुर्घटना नहोस् भनेर स्नानघाट नजिकै गोताखोर प्रहरीसमेत तयारी अवस्थामा राख्छौँ ।’

प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले चितवनको देवघाटतर्फ प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ४८१ सुरक्षाकर्मी परिचालन गरिने बताउनुभयो । त्यस्तै तनहुँतर्फ १५० प्रहरी परिचालन गरिने इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख सुशील लामिछानेले बताउनुभयो । नवलपुरतर्फ ६० भन्दा बढी प्रहरी परिचालन गरिने छ । सशस्त्र प्रहरी बल १७ नम्बर गण आँपटारीका प्रहरी नायब उपरीक्षक सुशील शाहीले विपद् व्यवस्थापन गर्नसमेत सशस्त्र प्रहरी परिचालन गर्न लागिएको बताउनुभयो ।

मेला अवधिभर लोडसेडिङ नहुने गरी तयारी गरिएको नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखाले जनाएको छ । शाखाका सूचना अधिकारी राजेन्द्रप्रसाद पौडेलले देवघाटमा बत्ती मर्मत र आकस्मिक कामका लागि पुस ३० गतेदेखि नै ६ जनाको प्राविधिक टोली परिचालन गरिने बताउनुभयो । देवघाटमा क्षेत्रमा भरतपुर-१ को देवघाट र भरतपुर-२९ को दासढुङ्गाबाट विद्यत् आपूर्ति गरिएको छ ।

ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले माघ १ गते देवघाटमा एकतर्फीमात्रै यातायात सञ्चालन गर्नेगरी रुट निर्धारण गरिएको बताउनुभयो । ‘हामीले देवघाट जानका लागि रामनगर र ठिमुराबाट रुट निर्धारण गरेका छौँ’, उहाँले भन्नुभयो, ‘रामनगर र ठिमुराबाट देवघाट प्रवेश गरेका सवारीसाधन वागीश्वरी, आँपटारी हुँदै नारायणगढ फिर्ता हुनेछन् ।’ शववाहन र एम्बुलेन्सबाहेकका सवारीलाई आँपटारीबाट देवघाट जान पूर्णरूपमा निषेध गरिने थापाले बताउनुभयो ।

काठमाडौं तथा पोखराबाट देवघाट स्नानका लागि आउने सवारीलाई दासढुङ्गाको पुल तरेर तनहुँतर्फ पठाइने थापाले बताउनुभयो । सो क्रममा चितवन र तनहुँको देवघाटलाई जोड्ने झोलुङ्गे पुल जीर्ण भएकाले पुलमा लाइन लगाएर तीर्थयात्रीलाई वारपार गराइने छ । पुलमा एकपटकमा २०० जनालाई मात्रै छोडिने र उनीहरु वारपार भएपछि मात्रै अर्को समूहलाई तर्न दिइने छ ।

त्रिशूली र कालीगण्डकी नदीको वेणी सङ्गममा स्नानका लागि जान चितवन र नवलपुरतर्फबाट र्‍याफ्टिङ डुङ्गासमेत सञ्चालन हुनेछन् । सो क्षेत्रमा कम्तीमा ३० र्‍याफ्टिङ डुङ्गा सञ्चालन गरिने र्‍याफ्टिङ डुङ्गा संयोजक सिर्जन शर्माले बताउनुभयो । नदी तरेर वेणीमा जानका लागि एकतर्फी भाडा रु ३५ तोकिएको छ । देवघाट क्षेत्र विकास समितका अध्यक्ष बद्रीप्रसाद अधिकारीले तीनवटै जिल्लासँग समन्वय गरेर देवघाट मेलाको तयारी भइरहेको बताउनुभयो । मेलामा पाँच लाखभन्दा बढी दर्शनार्थी आउने अपेक्षा गरिएको छ । तीर्थयात्रीलाई आगो ताप्न धुनीको र पानीको व्यवस्थापन तथा सवारी पार्किङको व्यवस्थापन भइसकेको घिमिरेको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu