Connect with us
Kapilvast Forest

सुन तस्करी प्रकरण : दुई लाख धरौटीमा छुटे गोरेका भाइ

२०७८, २२ पुष बिहीबारमा प्रकाशित

विराटनगर – साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेतीलाई जिल्ला अदालत मोरङले दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

बिहीबार थुनछेक बहसपछि न्यायाधीश भरत लम्सालको इजलासले उप्रेतीलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । उनी सुन तस्करी प्रकरणका मुख्य आरोपी चुणमणि उप्रेती गोरेका भाइ हुन् ।

 

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उप्रेती अदालतको आदेशपछि बिहीबार धरौटी बुझाएर छुटेका जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताउनु भयो ।

यसअघि युएईमा रहेका उप्रेती सुन तस्करी प्रकरणका अभियुक्तहरुले सफाइ पाउने र धरौटीमा छुट्ने भएपछि मंगलबार नेपाल आएका थिए । उनलाई प्रहरीले मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरी बुधबार जिल्ला अदालत मोरङमा हाजिर गराएको थियो ।

२०७४ साल फागुन १९ गते मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धान गर्ने क्रममा साढे ३३ किलो सुन तस्करीको विषय बाहिर आएको थियो । अनुसन्धानपछि १९ वैशाख २०७५ मा ७७ जना विरुद्ध ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा जिल्ला अदालतमा दर्ता भएको थियो ।

७७ जना प्रतिवादीमध्ये पक्राउ परेका गोरेसहित ५६ जना प्रतिवादीले सुन तस्करी मुद्दामा सफाइ पाए । शाक्य हत्या प्रकरणमा भने गोरेसहित ८ जनालाई अदालतले दोषी ठहर गरेको थियो ।

अदालतले मोरङ उर्लाबारीका चुडामणि उप्रेती गोरे, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको थियो । हत्या अभियोगमा जोडिएका भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो ।

सुन तस्करी मुद्दामा जिल्ला अदालतको फैसलापछि फरार रहेका २१ मध्ये तीन जना अदालतमा हाजिर भएका छन् । हाजिर भएका तीनै जना धरौटीमा छुटेका छन् । गत २७ मंसिरमा मुख्य आरोपीमध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएका थिए । थुनछेक बहसपछि उनी ३ लाख रुपैयाँ धरौटी बुझाएर छुटे ।

२२ मंसिरमा लम्सालकै इजलासले तस्कारीको सुनको लगानीकर्तामध्येका एक काले भनिने कृष्णगोपाल अग्रवाललाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

सरकारी वकिल कार्यालयले मोहन र कृष्णगोपाल तस्करीको सुनको लगानीकर्ता भएको दाबी गरेको थियो । तर सुन तस्करीमा संलग्न भनिएकाहरु नै अदालतबाट दोषी ठहर नभएपछि उनीहरु धरौटीमा छुटेका थिए । सुन मुद्दामा अझै १८ जना फरार छन् ।

सुरेन्द्र गौतम, मो। सुस्तम मिया, युकबहादुर मगर, रोहित आचार्य, भविन भनिने भवित तामाङ, कृष्ण बस्नेत, सुनिलकुमार अग्रवाल, कलम कार्की, मणीराज चौलागाई, शिवकुमार गुभाजु, अर्जुनप्रसाद खरेल, प्रयास पराजुली, सञ्जय अधिकारी, समिर अधिकारी, माधव आचार्य, ओम प्रकाश नेवार, आर, वि भन्ने सन्दिप खड्का अझै फरार छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu