आगामी निर्वाचनबाट प्रदेश नं २ मा एमाले ठूलो पार्टी बन्छ:महासचिव पोखरेल
जनकपुर -नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनबाट प्रदेश नं २ मा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नु भएको छ । एमाले सिरहाको १०औं जिल्ला अधिवेशनलाई लहानमा हिजो सम्बोधन गर्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा एमाले एक्लैले गठबन्धनमा रहेका दलहरूलाई हरेक ठाउँमा पछार्ने र एमाले प्रदेश २ कै ठूलो दल बन्ने दाबी गर्नु भएको हो ।
तराई–मधेसका जनताले अब जातीय र क्षेत्रीय मुद्दाभन्दा विकास खोजिरहेकाले एमालेको लहर तराई–मधेसमा पनि बढ्दै जान थालेको बताउँदै उनले अन्तरद्वन्द्वमा खेलेर एमाले पार्टीलाई कमजोर बनाउन खोज्नेहरू आगामी निर्वाचनबाट परास्त हुने जिकिरसमेत गर्नु भयो ।
तीनै तहको निर्वाचन गर्नुपर्ने बताउँदै उहाँले जति चाँडो निर्वाचन भयो त्यति चाँडो निकास र विकासको बाटो खुल्ने भएकाले कुनै पनि बहानामा निर्वाचनलाई पर सार्ने काम गर्न नहुने बताउनु भयो ।
कार्यक्रममा एमालेको सचिव रघुवीर महासेठ, स्थायी समिति सदस्य प्रभु साह, पोलिटब्यूरो सदस्य लीलानाथ श्रेष्ठ, केन्द्रीय सदस्यहरु ज्वालाकुमारी साह, सुमनराज प्याकुरेल लगायतले सम्बोधन गर्नु भएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाएको छ ।