नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने
काठमाडौं-नर्भिक इन्टरनेशनल हस्पिटलले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । पब्लिक कम्पनीमा रूपान्तरण भएको पहिलो वार्षिक साधारणसभाबाट बोनस सेयर पारित भएको हो ।आइपिओ निष्कासन तयारीमा रहेको अस्पतालले आर्थिक वर्ष २०७७र७८ को खुद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरण प्रस्ताव पारित गरेको जानकारी दिएको छ ।
हाल नर्भिकको चुक्तापुँजी १५ करोड रुपैयाँ छ । ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापुँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । यस्तै, साधारणसभाले हाल ३० करोडमा सीमित अधिकृत पुँजीलाई बढाएर एक अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गरेको छ ।
नर्भिकले आर्थिक वर्ष २०७७र७८ मा आठ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको थियो । सोही मुनाफाबाट ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत व्यवस्थापन हुने बताइएको छ ।
थापाथलीस्थित बीएलसी बिल्डिङमा बुधबार सम्पन्न साधारणसभामा सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा उनले कोरोना भाइरस महामारीको बेला समेत हस्पिटलले सन्तोषजनक प्रगति गरेको जानकारी दिनु भयो । महामारीको समयमा जनमानसप्रति सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराइएको र नर्भिकले सामाजिक उत्तरदायित्व अन्तर्गत पनि प्रभावकारी कार्यक्रमहरु गरेको उनले जानकारी दिनु भयो ।
उनले अस्पतालमा हालै आइभीएफ सेन्टर सञ्चालनमा आएको, निकट भविष्यमै अन्तरराष्ट्रिय स्तरको स्किन सेन्टर स्थापना तयारी भइरहेको, हस्पिटल व्यवस्थापनका लागि आधुनिक सफ्टवेयर निर्माण गरी प्रयोगमा ल्याइने र अस्पतालका सेवालाई आधुनिकीकरण गर्दै लैजाने बताउनु भयो ।
कार्यक्रममा नर्भिकका संस्थापक अध्यक्ष तथा संरक्षक वसन्तकुमार चौधरी, प्रबन्ध निर्देशक मेघा चौधरी, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र तथा संचालक र सेयरधनीहरूको सहभागीता रहेको थियो ।