Connect with us
Kapilvast Forest

मन्त्री आलेको दवावमा गुरुयोजना बिपरीत लुम्विनीको जग्गा सूरज बैद्यलाई

२०७८, २ माघ आईतवारमा प्रकाशित

बुटवल-नारायणहिटी संग्राहलयको जग्गा संरक्षण गरेको भनेर चर्चामा आएका संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेको दवावमा लुम्बिनी विकासकोषको जग्गा गुरुयोजना विपरित रिसोर्ट बनाउन दिने निर्णय भएको छ।

बिकास कोषका अध्यक्ष समेत रहेका मन्त्री आलेको ठाडो हस्तक्षेपमा मन्त्रालयबाटै प्रस्ताव लेगर ब्यवसायी सूरज बैद्यको संसारा वेलनेस नामक कम्पनीलाई लुम्बिनी गुरुयोजनाले समेटेको जग्गा भित्र रिसोर्ट संचालन गर्न दिने निर्णय गराएका छन्।

संसार वेलनेसलाई स्तरीय रिर्सोट सन्चालन गर्न दिने गरी गएको मंसिर ११ गते लुम्विनी बिकास कोषको बैठकले निर्णय गरेको लुम्विनी बिकास कोषका सदस्य सचिव शानुराजा शाक्यले बताए ।

संसार वेलनेस नामक उक्त कम्पनी उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष सुरज बैद्यको कम्पनी हो। बैद्य लुम्विनी बिकास कोषका पुर्व उपाध्यक्ष समेत हुन।

कोषको उपाध्यक्ष रहँदा त्यहाँको महत्व र जग्गा प्राप्ती गर्ने बाटाहरु पहिल्याएका बैद्यले आफु लुम्विनी बिकास कोषको उपाध्यक्ष रहँदैदेखि लुम्बिनीभित्र होटल बनाउने योजना तयार गरेका थिए।

त्यो बेला सफल हुन नसकेको उनको योजना अहिले आएर सफल भएको छ। लुम्विनी बिकास कोषका कर्मचारीहरुका अनुसार यस बिचमा बैद्य आफै र उनका प्राविधीक कर्मचारीहरु समेत पटक पटक जग्गाको अवलोकन गर्न आएका थिए।

तत्कालिन संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री भानुभक्त ढकालकै पालोमा लुम्बिनी ग्राममा रहेको क्याम्पियन ग्राउण्डभित्र रिसोर्ट संचालन गर्ने प्रस्ताव संसारा वेलनेसले पेश गरेको भएपनि मन्त्रीको कार्यकाल छोटो भएका कारण बिकास कोषको बैठक नै बस्न नसकेपछि उक्त फाईल अगाडी बढ्न सकेको थिएन।

तर गत असोजमा प्रेमकुमार आले मन्त्री बनेर आएपछि भने एकीकृत समाजबादीका अध्यक्ष माधव नेपाल मार्फत मन्त्री आले समक्ष पुनः प्रस्ताव लगेर डेढ महिनामै उक्त जग्गा संसार वेलनेसलाई दिने निर्णय गरिएको श्रोतको दावी छ।

लुम्बिनी विकासकोषका अनुसार संसारा वेलनेसलाई जग्गा दिने प्रस्ताव मन्त्रालयबाटै सिधै विकासकोषको बैठकमा पेश गरिएको थियो। ‘जग्गा दिने प्रस्ताव मन्त्रालयबाटै आएको थियो।’ विकासकोषका एक सदस्यले भने।

संसारा वेलनेसले लुम्बिनी ग्रामस्थित श्रीलङ्काको पिलग्रिमेज हाउससँग जोडिएको क्याम्पियन ग्राउण्डको जग्गा रिसोर्ट संचालनका लागि उपलब्ध गराउन लुम्बिनी विकासकोष सामु प्रस्ताव गरेको बिकास कोष श्रोतले बताएको छ।

जापनिज वास्तुविद् प्रोफेसर केन्जो टांगेले बनाएको लुम्बिनी विकास गुरुयोजनामा चारविगाह क्षेत्रमा फैलिएको क्याम्पियन ग्राउण्डमा आठ/नौ वटा कोठा, खुल्ला स्थान, शौचालय, क्याम्प फायर र पिकनिक स्पट राख्ने उल्लेख छ। तर संसारा वेलनेसले पेश गरेको प्रस्तावमा भने मेडिटेसन संचालन गर्ने मेडिटेसनको लागि आउने पाहुनाहरुको आवासको लागि रिसोर्ट संचालन गर्ने उल्लेख गरिएको छ।

लुम्बिनी विकास गुरुयोजनामा लुम्बिनी ग्राममा स्वदेशी तथा विदेशी पाहुनाहरुको लागि उच्चस्तरिय आवासका लागि तिनवटा मात्रै होटल संचालन गर्ने उल्लेख छ। सोहि अनुसार होक्के होटल, होटल कासाइ र श्रीलङ्काको पिलग्रिमेज हाउस यसअघि नै संचालन भईसकेका छन्।

संसारा वेलनेसले प्रस्ताव गरेको क्षेत्र क्याम्पियन ग्राउण्ड रहेकोले त्यसलाई रिसोर्ट संचालनको लागि दिन नहुने पक्षमा रहेका लुम्विनी बिकास कोषका उपाध्यक्ष अवधेस कुमार त्रिपाठी (भिक्षु मेत्तेय) लाई मन्त्री आलेले निर्णयमा सहमत नहुने भए राजिनामा गर्न समेत दवाव दिएका थिए।

उपाध्यक्षले गुरुयोजना विपरित रिसोर्ट संचालनको लागि दिन अस्विकार गरेपछि रिसाएका मन्त्री आलेले लुम्विनी गार्डेन फाउण्डेसनले गौतमबुद्ध बिमानस्थलमा बुद्धमुर्ती राख्न कार्तिक १४ गते आयोजना गरेको कार्यक्रम स्थलमै उनीहरुलाई राजिनामा दिन निर्देशन दिएका थिए।

‘जग्गाको विषयमा मन्त्री ज्यू पहिलेदेखि असन्तुष्ट हुनुहुन्थ्यो, अर्कैले आयोजना गरेको कार्यक्रममा उहाँलाई बोल्न नदिएपछि झन आगो हुनु भयो।’ विकासकोषका एक सदस्यले भने। बोल्न नपाएर रिसले चुर भएका मन्त्री आलेले तिमीहरुले राजिनामा दिए देउ नदिए ठेगान लगाउँछु भन्दै बिमानस्थलमै रुपमा बम्केका थिए।

लुम्विनी विकास गुरुयोजनाभन्दा बाहिर गएर कुनैपनि संरचना निर्माण गर्न नहुने भन्दै अडान राख्दै आएका उपाध्यक्ष त्रिपाठीले मन्त्रीको दवाव थेग्न नसकेपछि नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल निवास पुगेर आफ्नो अवधी सकिन लागेकोले मन्त्रीलाई मनाउन आग्रह समेत गरेका थिए।

तर रिसोर्टका लागि विकासकोषको जग्गा दिन नहुने भन्दै अडान राख्दै आएका मेत्तेयलाई नै नबोलाई बसेको विकासकोषका पदाधिकारी/सदस्यहरुको गत मंसिर ११ गतेको बैठकले रिसोर्ट संचालनको लागि जग्गा दिने निर्णय गरेको हो।

सोहि जग्गाकै विषयमा मन्त्री आलेसँग कुरा नमिलेपछि पछिल्लो एकमहिना यता उपाध्यक्ष त्रिपाठी क्यानडा गएर बसेको उनि निकट श्रोतले जानकारी दियो।

‘जग्गाको विषयमा तिनमहिना पहिलेदेखि नै मन्त्री ज्यू र उपाध्यक्ष ज्यूको विचमा विवाद बढिरहेको थियो, मन्त्री ज्यूले त उपाध्यक्ष ज्यूलाई हटाएरै भएपनि जग्गा दिने भनेपछि उपाध्यक्ष ज्यूलाई बैठकमा समेत बोलाउन छोडिएको थियो, अहिले त उहाँ नेपाल बाहिर जानु भएको छ।’ त्रिपाठी निकट श्रोतले भन्यो।

तर लुम्बिनी विकासकोषका सदस्यसचिव सानुराज शाक्यले भने उपाध्यक्षलाई बैठकमा नबोलाएको भन्न नमिल्ने बताए। ‘बैठकमै नबोलाएको भन्न मिल्दैन, उहालाई म आफैले बैठकमा बोलाएको हो, एउटा बैठकमा आफै उपस्थित हुनुभएन अर्कोमा भने त्यस्तै त्यस्तै भयो।’ शाक्यले भने। जग्गा दिने निर्णय गर्दाको उक्त बैठकमा उपाध्यक्ष भिक्षु मेत्तेय सहभागी भएनन्।

शाक्यले संसारा वेलनेस नामक कम्पनीलाई जग्गा दिई नसकिएको तर मेडिटेसन संचालन गर्ने र मेडिटेसन गर्न आउनेहरुलाई बस्ने सुविधा सहितको रिसोर्ट संचालनका लागि प्रस्ताव पेश गरेकोले त्यसको विस्तृत परियोजना माग गर्ने निर्णय गरिएको जानकारी दिए।

शाक्यले संसारा वेलनेसले प्रस्ताव गरेको जग्गा मोनाष्ट्रि जोन भित्रको नभई गुरुयोजनामा नै क्याम्पियन ग्राउण्डको लागि छुट्टयाएको क्षेत्र भएकोले सैद्धान्तिक रुपमा मात्रै निर्णय गरिएको उनले बताए। ‘उहाँहरुलाई गुरुयोजना अनुरुपको संरचना निर्माण गर्न दिने भन्ने निर्णय भएको छ, गुरुयोजना भन्दा बाहिर प्रस्ताव आयो भने स्वीकृत हुंदैन।’ शाक्यले भने। तर गुरुयोजना अनुसार ३ वटा होटल सन्चालनमा आईसकेकोले सन्सारा वेलनेसको प्रस्ताव लिनै मिल्दैन्थ्यो।

लुम्बिनी विकासकोषका वरिष्ठ इन्जिनीयर सरोज भट्टराईले क्याम्पियन ग्राउण्डको जग्गा रिसोर्टको लागि दिईनसकिएको र प्रस्ताव गरेको कम्पनीको विस्तृत योजना माग गर्ने निर्णय मात्रै गरिएको दावी गरे।

‘सुरज वैद्य आफैपनि लुम्बिनी विकासकोषको पुर्व उपाध्यक्ष हुनुभएकोले गुरुयोजनाभित्र के राख्ने के नराख्ने भन्ने थाहा होला, त्यहि अनुसार प्रस्ताव पनि गर्नुभएको होला तर गुरुयोजना विपरित आउने प्रस्तावमा भने विकासकोषले निर्णय गर्दैन।’ भट्टराईले भने।

भट्टरार्ईले गुरुयोजनामै पिकनिक स्पट र क्याम्प फायरको लागि भनेर क्याम्पियन ग्राउण्ड तोकिएकोले त्यो भन्दा बाहिर गएर जग्गा नदिईने बताए। तर विकासकोषका एक सदस्य भने रिसोर्ट संचालनको लागि मन्त्री आलेको दवाव रहेको दावी गर्छन्।समयचक्रबाट साभार 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu