Connect with us
Kapilvast Forest

नेप्सेले नाडेप लघुवित्तको २० प्रतिशत बोनस शेयरपछिको मूल्य तोक्योे

२०७८, ३ माघ सोमबारमा प्रकाशित

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयरपछिको मूल्य तोकेको छ । नेप्सेले कम्पनीको अघिल्लो कारोबार दिन कायम अन्तिम शेयरमूल्य १ हजार ३९ को आधारमा बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरी बोनस पछिको मूल्य ८६५ दशमलव ८३ तोकेको हो ।

कम्पनीले माघ १४ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस २० गतेको सञ्चालक समितिको बैठकले नौविसे एग्रो रिसोर्ट, नौविसे धादिङमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो । सोही बैठकले सभा प्रयोजनका लागि माघ ३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले नेप्सेले बुक क्लोजपछिको मूल्य निर्धारण गरेको हो । यद्यपी कम्पनीको शेयर कारोबार भने २०७७ साल पुस १६ गतेदेखि नै रोक्का रहेको छ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको प्राप्ती प्रयोजनका लागि कम्पनीको शेयर कारोबार रोकिएको हो । कारोबार रोक्का भएको एक वर्ष वितिसक्दा यतिवेला यी कम्पनीहरुविच प्राप्ती सम्झौता बदर भएको जानकारी प्राप्त भएको छ । उक्त प्राप्ती सम्झौता बदर भएको निर्णयलाई पनि सभाले अनुमोदन गर्ने कार्यक्रम रहेको छ ।

यी प्रस्तावहरुसँगै सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल २१ दशमलव ०५३ प्रतिशत लाभांश समेत वितरणयोग्य बनाउँनेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड ४८ लाख रुपैयाँको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको हो । साथै कम्पनीले संस्थापक समूहबाट चार जना सञ्चालकहरु निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj