मोटरसाइकलको ठक्करबाट ६१ वर्षीया वृद्ध महिलाको मृत्यु
कर्णाली -मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगर नगरपालिकामा एक वृद्ध महिलाको को मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–२ की ६१ वर्षीया नन्दकली कँडेल रहेको प्रहरीले जनाएको छ ।सुर्खेत बाङ्गेसिमलदेखि मुख्य बजारमा आउँदै गरेको क ०२००१.प.८९५० नम्बरको मोटरसाइकलले आइतबार रेडियो नेपाल प्रादेशिक कार्यालय सुर्खेत नजिक ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिनुभयो । घाइते अवस्थाकी कँडेलको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो ।
“मोटरसाइकलको ठक्करका कारण मृत्यु भएपछि उचित क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने मृतका भाइ काशीराम सापकोटाले बताउनुभयो । “शव अहिले प्रदेश अस्पतालको शव गृहमा छ”, उहाँले भन्नुभयो, “प्रहरी प्रशासनले उचित क्षतिपूर्ति र दोषीलाई कारबाही नगरेसम्म हामी बुझ्दैनौँ ।” प्रहरी निरीक्षक शाहीले मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका २ सुर्खेत दौलतपुरका करिब २५ वर्षीय नवराज सुनारलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार पीडित पक्षका आफन्तसँग छलफल भइरहेको छ ।