यही साताभित्र स्थानीय तहको चुनावको मिति घोषणा हुन्छः स्वास्थ्यमन्त्री
विराटनगर-स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले यही साताभित्र स्थानीय तहको चुनावको मिति घोषण हुने बताउनु भएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय गर्ने बताउनु भएको हो ।समाजवादी प्रेस संगठन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने,‘पाँच दलीय गठबन्धन चुनावबाट भागेको छैन । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको चुनावको मिति टुंग्याउछौँ ।’
विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो । अर्को प्रशंगमा मन्त्री खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई सावधान भएको बताउनु भयो । उहाँले वर्तमान पदाधिकारीलाई काम गर्न रोक लगाइएको र सरकारले पाँच सदस्यीय टोली गठन गरेर धरान पठाएको जानकारी दिनु भयो ।
शुक्रबार नेतृत्वमा काम गर्नका लागि टोली पठाइएको उहाँको भनाइ छ । टोलीले काम थालेपछि वर्तमान पदाधिकारीले छानबिन नसकिएसम्म काम गर्न नपाउने भनाइ थियो ।
मन्त्री खतिवडाले कोरोनाको महामारीको एक मात्र विकल्प खोप भएकाले खोप अभियानमा सक्रिय सहभागिताको लागि सर्वसाधारणलाई आग्रह गर्नु भएको छ । सरकारले खोप कार्यक्रमलाई अभियानका रुपमा अघि सारेको भन्दै मन्त्री खतिवडाले सरकारी अस्पताल र विभिन्न स्वास्थ्य संस्थामा विषेश डेस्क सञ्चालन गरि नियमित खोप सञ्चालन गरिएको बताउनु भयो ।
आगामी चैत महिनाभित्र १८ वर्ष माथिका लक्षित समुहका नागरिकलाई पूर्ण मात्राको खोप लगाइसक्ने सरकारको योजना रहेको भन्दै मन्त्री खतिवडाले भने,‘सरकारको लक्ष्य अनुपातमा नागरिकको सहभागिता न्यून देखिएको छ। लक्ष्य प्राप्तिका लागि सरकारले सबै प्रदेशमा एकसाथ खोप कार्यक्रमलाई अभियानको शुरु गरेको छ।’ सरकारको यो अभियानमा नागरिक तहबाट सहयोगको अपेक्षा सरकारले राखेको उहाँले बताउनु भयो ।