Connect with us
Kapilvast Forest

सांसद, मेयर र चिकित्सकमाथि भाटा बोकेका जनमत पार्टीका कार्यकर्ताको आक्रमण

२०७८, १२ माघ बुधबारमा प्रकाशित

जनकपुरधाम-सिके राउत नेतृत्वको जनमत पार्टीले पछिल्लो समय किसानका माग अगाडि सारेर आन्दोलन गरिराखेको छ।आज बिहानैदेखि जनकपुरधाममा बाँसका भाटा लिएका जनमत पार्टीका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका थिए।

१९ सिटका लागि आज सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन छ। बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानका लागि समय दिइएको थियो।

अन्यत्र शान्त भए पनि जनकपुरधाममा भने बिहानैदेखि प्रदर्शन भइरहेको छ।मतदान सुरू नहुँदै जनमत पार्टीका कार्यकर्ताहरू जनकपुरधामका मतदानस्थल वरपर देखिएका थिए। मतदान सुरू भएपछि उनीहरू मतदान केन्द्रमै छिर्न खोजेपछि प्रहरीसँग झडप नै भयो।

जनमत पार्टीले जनतालाई मल आवश्यकता परेकोले उपलब्ध गराउन माग गरिरहेका छन्।सडकमा जनमत पार्टीका कार्यकर्ताले टायर बालेर प्रदर्शन गर्दा मतदान स्थलमा भने शान्तपूर्वक नै मतदान भइरहेका थिए।

तर जनमत पार्टीले मतदानमा आएका मतदाता (स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्य) लाई लक्षित गर्दै आक्रमण गरेका थिए।

सरकारी गाडीहरू तोडफोड र जनप्रतिनिधि तथा चिकित्सकलाई जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेर घाइते बनाएका विवरणहरू आएका छन्।

मतदानस्थल वरपर प्रहरीले जनमत पार्टीका कार्यकर्तालाई आउन रोकेको छ। त्यसक्रममा भिड नियन्त्रणमा लिन अश्रुग्याससमेत प्रहार गरिएको थियो।

‘अहिलेसम्म दुई दर्जनसेल अश्रुग्यास प्रहार गरिएको छ। भिड तितरबितर पार्नका लागि अश्रुग्यास प्रहार गरिएको हो,’ धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने।

जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले लाठीचार्जसमेत गरेको छ। प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरू घाइते छन्। कति जना घाइते छन् भन्ने विवरण भने आइनसकेको प्रजिअ पौडेल बताउँछन्।

प्रदर्शनकारीहरूले मधेश प्रदेश सभा सदस्य, हरिवन नगरपालिका र जलेश्वर अस्पतालको गाडी तोडफोड गरेका छन्।

जनकपुरधामस्थित पिडारी चोकमा जनमत पार्टीका कार्यकर्ताले आक्रमण गर्दा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साह, प्रदेश सभा सदस्य अशोक यादव, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंलगायतका घाइते छन्।

भाटासहित प्रदर्शनमा उत्रिएकाहरूले गाडी रोकेर तोडफोड र गाडीमा सवार रहेकाहरूलाई आक्रमण गरेको गाडीमा सवार रहेका नेकपा एमालेका नेता खेमराज भट्टराईले बताए।‘हामीलाई घेरेर आक्रमण गरे। गाडीका सीसा फुटाइदिए,’ उनले भने, ‘टाउको र हातमा लाठी हाने, चोट लागेको छ।’

साथै प्रदर्शनमा उत्रिएका जनमतका कार्यकर्ताको आक्रमणबाट जनकपुरबाट बर्दिबास जाने क्रममा रहेका डाक्टर साह घाइते भएका हुन्। उनको अनुहारमा गहिरो चोट लागेको छ। उनको टाउकोमा आठवटा टाँका लगाइएको छ।

जनमत पार्टीका कार्यकर्ताहरूले भने आफूहरूले उठाएका किसानका मुद्दा सम्बोधन नगरे राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न नदिने बताएका थिए।

उनीहरूले प्रदेशका कृषिमन्त्रीविरूद्ध पनि नाराबाजी गरेका थिए।आज बिहानदेखि धनुषा, महोत्तरी, सिरहा, सर्लाही लगायतका ठाउँबाट आन्दोलन गर्न भन्दै जनमतका कार्यकर्ता जनकपुर आएका थिए। उनीहरूले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउने भनेका थिए।

राष्ट्रिय सभा निर्वाचनमा मधेशमा सत्तारूढ गठबन्धनका पाँच दल र नेकपा एमाले तथा लोकतान्त्रिक समाजवादी पार्टीको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu