महिला भलिबल टोलीलाई सरकारको सम्मान
काठमाडौँ- बङ्गलादेशको ढाकामा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ उपाधि विजेता नेपाली राष्ट्रिय भलिबल टोलीलाई सरकारले नगद पुरस्कारसहित सम्मान गरेको छ।
च्याम्पियन टोलीलाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमबीच सम्मान गरिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले नगद पाँचपाँच लाखसहित खेलाडीलाई सम्मान गर्नुभएको हो।
प्रधानमन्त्री देउवाले उपाधि विजेता महिला टोलीका १२ खेलाडीलाई ५\५ लाख रुपियाँ र टोलीका प्रशिक्षक र सहायक प्रशिक्षकलाई तीन तीन लाख तथा एक जना व्यवस्थापकलाई दुई लाख रुपियाँसहित सम्मान गर्नुभएको हो।
सम्मान कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल सङ्घका पदाधिकारी लगायतको उपस्थिति थियो।
नेपाली महिला टोलीले लगातार दोस्रो पटक एसियन सेन्ट्रल जोन उपाधि जितेको हो। फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको थियो। पुरुषतर्फ भने नेपाल चौथो भएको थियो। सरकारले यसअघि घोषणा गरे अनुसार खेलाडीलाई शुक्रबार पुरस्कृत गरेको हो।