Connect with us
Kapilvast Forest

सरस्वती पूजाको अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना सन्देश

२०७८, २३ माघ आईतवारमा प्रकाशित

bidya_bhandari_presedent_nepal

 

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिनुभएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन हुन सकोस् भन्ने कामना गर्नुभएको छ ।

विद्या, वुद्धि, कला र सङ्गीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले सर्वसुलभ, गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट प्रतिस्पर्धी जनशक्ति विकास गर्ने, शिक्षामा लगानी अनुसारको प्रतिफल निकाल्ने र नवप्रवर्तनका लागि युवा पुस्तासँग राज्यले हातेमालो गरेर अघि बढ्नुपर्ने ठूलो चुनौती रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

“समयले दिएको यस हाँकलाई स्वीकार्दै दिगो सामाजिक आर्थिक समृद्धिको नयाँ मार्ग पहिल्याउन आजको दिन हामी सबैले प्रण गर्नैपर्दछ”, उहाँले भन्नुभएको छ । वर्तमान सन्दर्भमा प्रारम्भिक बाल विकास तहदेखि, विद्यालय हुँदै विश्वविद्यालयसम्म नै शिक्षाको सामयिक सुधारका सवालहरू साझा राष्ट्रिय चासोका विषय हुन पुगेका बताउँदै उहाँले शैक्षिक संस्थाहरूको सुधार, प्राध्यापक तथा शिक्षकहरूको सीप अभिवृद्धि र वृत्तिविकास, जीवनोपयोगी शिक्षा नीतिको निर्माण तथा अनुसन्धानमुखी शिक्षाको माध्यमबाट नागरिकको चौतर्फी व्यक्तित्व विकासमा राष्ट्र, अभिभावक र शैक्षिक संस्थाहरूले गर्नुपर्ने समवेत प्रयासतर्फ हामीले आफूलाई निर्देशित गर्नुपरेको छ उल्लेख गर्नुभएको छ ।

सरस्वती पूजाको सबैभन्दा ठूलो सन्देश बाल्यावस्थादेखि नै शिक्षालाई विशेष जोड दिनु हो । विद्याले व्यक्तिको सामथ्र्य अभिवृद्धि गर्छ, सच्चरित्र दिन्छ, त्यसैले आजको दिन बालबालिकालाई विद्यारम्भ गराउँदा दिगो शिक्षा प्राप्त हुने जनविश्वास रहेको उहाँले बताउनुभएको छ ।

“प्रकृति, संस्कृति र सभ्यताको त्रिवेणीका रूपमा रहेको वसन्त पञ्चमीलाई नेपालमा राजकीय महत्व प्राप्त छ । आजको दिन गरिने वसन्त श्रवण र सरस्वती पूजा केवल औपचारिकता होइन, हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिहने पर्व हो । यसको गरिमालाई हामी सबैले आत्मसात गर्नुपर्दछ”, सन्देशमा भनिएको छ ।

वसन्त पञ्चमीलाई सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिक कालदेखि नै चलिआएको छ, ऋग्वेदमा वाग्देवी अर्थात् वाणीकी देवी मानिएकी सरस्वती भएजस्तै बौद्ध सभ्यतामा ज्ञानका बुद्धलाई मन्जुश्रीका रूपमा उपासना गरिने प्रचलन रहेको भन्दै राष्टपतिले ज्ञानका स्रोत मानिने पुस्तकसहित सङ्गीतका वाद्ययन्त्र तथा रङ–कलाका साधनलाई सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा रहेको बताउनुभएको छ ।

वसन्त पञ्चमीले एकातिर ज्ञानमा अन्तर्निहित शक्तिको पहिचान गरी त्यसलाई उत्सवमय बनाउने तथा मानवजातिलाई असल र खराब छुट्याई असल मात्रलाई ग्रहण गर्ने आन्तरिक प्रकाशको खोजी गर्न निरन्तर उत्प्रेरित गर्दछ भन्नुभएको छ ।नेपालका धेरै सांस्कृतिक पर्व र परम्परा जस्तै वसन्त पञ्चमी पनि प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएका, जाडोयाम सकिएर वसन्त ऋतुको आगमन हुँदा प्रकृतिले नवीनता पाउँने तथा स्रस्टाहरू वसन्त ऋतुलाई सिर्जनाको प्रतीक मान्दछन् भन्दै राष्टपतिले सन्देशमा किसानका निम्ति वसन्त पञ्चमी नयाँ बाली लगाउन प्रकृतिले दिएको अवसरका रूपमा लिने गएिको र पर्यावरणको दिगो संरक्षण गर्दै मानव विकासको अवधारणालाई मूर्तरूप दिन आजका दिनले प्रेरणा प्रदान गर्दछ भन्ने आफूलाई लागेको उल्लेख गर्नुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu