चन्द्रागिरिमा हिउँ खेलेर फर्किंदा हराएका ५ जनाको उद्धार
काठमाडौं -चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले मध्यराति उद्धार गरेको छ ।हिउँ खेल्न गएर फर्किने क्रममा जंगलको बाटोमा हराएका चन्द्रागिरि नगरपालिका(६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ, ११ वर्षीया जेनिसा गुरूङ र ७ वर्षीय एनवीन गुरूङलाई उद्धार गरिएको प्रहरीले जनाएको छ।
उनीहरू सबै सकुशल रहेका थानकोट प्रहरीका इन्सपेक्टर रामप्रसाद सापकोटाले जानकारी दिनु भयो ।प्रहरीका अनुसार उनीहरूले आफूहरूले बाटो भूलेको भनेर राति साढे आठ बजे घरमा खबर गरेका थिए ।
घरका अरु सदस्यहरूले प्रहरीमा जानकारी गराएपछि प्रहरी टोली परिचालित भएको थियो । खोजीमा विपद व्यवस्थापन गुल्म सामाखुसीका सदस्यहरूसमेत थिए ।