पर्यटनमन्त्री आले अश्लील बोल्दै गाली गरेको गम्भीर आरोप
काठमाडौँ – पर्यटनमन्त्री प्रेम आले फेरि विवादमा आउनु भएको छ । उनले एक जना व्यक्तिसँग मन्त्रीको पदीय हैसियत बिर्सेर अश्लील गाली गरेको अडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भारतको मुम्बईबाट फोन गरेका एक जना सुदूरपश्चिमकै व्यक्तिले मन्त्री आलेलाई काठ तस्करको आरोप लगाउनु भएको छ । उहाँ काठ तस्करकै आरोपमा नौ महिनासम्म जेल बसेको आरोप लगाउनु भएको छ ।
फोनमा उहाँले ‘तपाईबाट यस्तो छैन’ भन्दै कुराकानीको सुरुवात गर्नु भएको छ ।जवाफमा मन्त्री आलेले ‘कस्तो आश के आश भन्दै अश्लील गालीको वर्षा गराउनु भएको छ । कतिसम्म भने मन्त्री आलेले भिडियो फोनमै अश्लील गालीको वर्षा गराउनु भएको हो ।
त्यसपछि ती व्यक्तिले मन्त्री आलेको पदीय मर्यादालाई बेवास्ता गरेर ‘तैले के गर्न सक्छस’ भन्दै प्रश्न गरेका छन् । त्यसैमा मन्त्री आलेलाई पनि गाली गदै ‘‘काठ तस्कर, ९ महिना जेल बसेर निस्केको होइनस्’ भन्दै प्रश्न गर्नु भएको छ ।
यसले मन्त्री आलेमाथि अर्को प्रश्न उब्जिएको छ । उहाँमाथि काठ तस्करीको आरोप नौलो होइन । तर काठ तस्करीको आरोप लागेर पनि ९ महिना जेल बसेको आरोप भने गम्भीर हो । यदि यो कुरा पुष्टि भएको खण्डमा आलेको मन्त्री पद जानेछ ।
संविधानमा फौजदारी कसुरमा सजाय भोगेका व्यक्ति मन्त्री बन्न अयोग्य हुने उल्लेख छ । त्यसमाथि मन्त्री आले पटकपटक विवादमा आइरहने व्यक्ति हुन् । यसअघि ओली सरकारमा वनमन्त्री रहेका आलेले ‘रुखले कार्बनडाइअक्साइड दिन्छ’ भन्दै हावादारी अभिव्यक्ति दिनु भएको थियो ।
त्यतिबेला कोरोना संक्रमणको बेला अक्सिजन सिलिण्डर वितरण गर्दा उहाँले आफ्नो फोटोसमेत टाँसेर सुदूरपश्चिमका पहाडी जिल्लामा स्वास्थ्य सामग्री वितरण गर्नु भएको थियो । त्यतिबेलादेखि विवादमा रहँदै आएका मन्त्री आलेको पछिल्लो अश्लील गालीसहितको अडियो भाइरल हुँदा थप आलोचना बढेको छ ।सामाजिक सञ्जालमा कतिपयले मन्त्री आलेलाई बर्खास्त गर्नुपर्ने माग पनि उठाएका छन् ।