विस्तारै सम्हालिने प्रयास गर्दै सेयर बजार
काठमाडौं- ब्याजदर बढाउने निर्णयका कारण आइतबार एकै दिन ह्वात्तै गिरावट आएको सेयर बजार अब विस्तारै सम्हालिने प्रयास गरेको छ । सोमबार २७ सयको मनोवैज्ञानिक रेखामा बसेको नेप्से आज मंगलबार सामान्य सुधार भएर कारोबार भइरहेको छ । मंगलबार यो समाचार तयार पार्दासम्म (करिब १ः१५ बजे) नेप्से सूचक ६ अंक भन्दा बढीले बढेर २७०७ विन्दुमा अडिएको छ ।
सूचकमा सामान्य सुधार हुँदा खरिदबिक्री रकम भने न्यून रहेको छ । लगानीकर्ताहरु पर्ख र हेर को रणनीतिमा बस्दा कारोबार रकम पनि सु्स्त भएको हो । आम लगानीकर्ताहरु नेप्से २७ सयभन्दा माथि टिक्छ वा त्यसभन्दा तल झर्छ भनेर चनाखोपूर्वक हेरिरहेका छन् । सोही कारण खरिदबिक्री रकम कम भएको हो ।
यसबाहेक कतिपयले बजारले न्यूनतम विन्दुको बटम लगाउन लागेकाले पनि खरिदबिक्रीमा कमी आएको अनुमान लगाइरहेका छन् । तथापि, पेनिक सेल भने विस्तारै सकिएको अनुमान गरिएको छ । आम लगानीकर्ताले यस्तो बेला सबल सूचक भएका कम्पनीहरुमा योजनाबद्ध हिसाबले लगानी गर्न सक्नुपर्छ ।