Connect with us
Kapilvast Forest

मैत्रीपूर्ण फुटबलमा राजधानी युवा क्लब विजयी

२०७८, १० फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं- राजधानी युवा क्लबले सेभेन ए साइड मैत्रीपूर्ण फुटबल खेल जितेको छ ।मंगलबार मनमैजुस्थित एन्जल स्पोर्टस् एकेडेमीको मैदानमा भएको मैत्रीपूर्ण खेलमा राजधानीले दुवै खेल जित्दै च्याम्पियन भएको हो । मैत्रीपूर्णमा आयोजकसहित कलाकार टिम र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को सहभागिता रहेको थियो ।

 

राजधानीले पहिलो खेलमा कलाकार टोलीलाई ३–१ अन्तरले पराजित गर्‍यो । २०–२० मिनेट गरी ४० मिनेट खेलाइएको खेलमा राजधानीलाई जिताउन खिम थापाले दुई तथा सन्तोष श्रेष्ठले एक गोल गरे । कलाकारका लागि हरि डाँगीले सान्त्वना गोल फर्काए ।

कलाकारको टिममा हरिसँगै बद्री पंगेनी, राजु ढकाल, धिरेन शाक्यलगायत सहभागी थिए ।

 

दोस्रो खेलमा राजधानीले एनएसजेएफलाई ५–२ अन्तरले पराजित गर्‍यो । राजधानीको जितमा देवान तामाङले ह्याट्रिक गरे । यस्तै राजकुमार गोले र चन्द्रबहादुर कार्कीले एक-एक गोल गरे । एनएसजेएफका लागि आशिष पुडासैनी र दिल तामाङले एक एक गोल गरे ।

पहिलो खेलमा आयोजकसँग पराजित कलाकार टिमले दोस्रो खेलमा एनएसजेएफलाई ९–० हरायो । कलाकारको जितमा हरि डांगी र राजु ढकालले ह्याट्रिक गर्दा आकाश खवास, सविन आचार्य र बद्री पंगेनीले समान एक-एक गोल गरे ।

राजधानी युवा क्लब र एन्जल्स स्पोर्ट्स एकेडेमीले १३–१४ फागुनमा सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्दैछ । सोही प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजक राजधानीले कलाकार र पत्रकार टोलीसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj