व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन : माओवादीमा ५ नेताको विरोध
काठमाडौं – नेकपा माओवादी केन्द्रका ५ नेताले अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णयको विरोध गर्नु भएको छ ।
केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने प्रस्ताव ल्याएका थिए । छलफलका क्रममा नारायणकाजी श्रेष्ठ, देव गुरुङ, कृष्णबहादुर महरा, लिलामणि पोखरेल र गिरिराजमणि पोखरेलले मात्र त्यसको विरोध गर्नु भएको छ ।
श्रेष्ठले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्नु महाधिवेशनको निर्णय विपरीत हुने बताउनु भयो । केन्द्रीय समितिमा पनि छलफल नगरी महाधिवेशनको निर्णय विपरीत जाने अधिकार कसैलाई नभएको भन्दै उहाँले भन्नु भयो ‘यो संसदवादी, आत्मसुरक्षावादमा आधारित राष्ट्रिय आत्मसमर्पणवादी निर्णय हो ।’
देव गुरुङले संशोधन नगरी मूल सम्झौता पास गर्न नमिल्ने बताए । उहाँले भन्नु भएको थियो , ‘यसले राष्ट्रिय आत्मसमपर्णवाद र गद्दारीको दिशातिर जान्छ । यसले देशलाई दुर्घटनाबाट बचाउने होइन, झन् दुर्घटनारतिर लैजान्छ ।’