Connect with us
Kapilvast Forest

शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै : आज सार्वजनिक बिदा

२०७८, १९ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं- शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदैछन् ।विशेष गरी हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ ।

यो पर्वमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ । यसलाई पारिवारिक एवम् सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा लिइन्छ ।

महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार–२१४९ का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना दिँदै नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

ग्याल्पो ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गरी ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग भएको उल्लेख गर्नुभएको छ । साथै उहाँले सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भइ राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने बताउनुभएको छ ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका धार्मिक एवम् सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देशमार्फत नेपाल जातीय, भाषिक, धार्मिक एवम् सांस्कृतिक विविधताले सम्पन्न देश भएको उल्लेख गर्दै सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र महासन्धि कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले सरकार अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न तथा नेपाली धार्मिक एवम् सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवम् सम्वर्द्धनका लागि सदैव क्रियाशील रहेको बताउनुभएको छ ।

यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले पनि मौलिक चाडपर्वले हाम्रो विविधतालाई जीवित बनाइ राख्न मद्दत पुग्ने बताउनुभएको छ । ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu