माधव नेपालको पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा एमालेको आपत्ति
काठमाडौं -प्रमुख विपक्षी नेकपा एमालेले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा आपत्ति जनाएको छ ।
निर्वाचन आयोगले शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गरेको थियो ।
छलफलमा सहभागी एमालेका प्रतिनिधिहरूले नेकपा एकीकृत समाजवादीसँगै लोकतान्त्रिक समाजवादी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा आपत्ति जनाएको हो ।
गत भदौ २ गते सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो । सोही अध्यादेश अनुसार माधव नेपालले एमाले फुटाएर र महत्थ ठाकुरले जसफा फुटाएर नयाँ पार्टी दर्ता गरेका थिए । जसलाई निर्वाचन आयोगले भदौ ९ गते नै मान्यता दिएको थियो ।