Connect with us
Kapilvast Forest

तनहुँसुरको पर्यटन प्रवद्र्धनका लागि २० करोडको योजना

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

तनहुँ -तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिकस्थल तनहुँसुरको पर्यटन प्रवद्र्धनका लागि रु २० करोड गरिएको छ । तनहुँसुर भानु शान्ति निकुञ्ज बृहत् गुरुयोजनाका लागि रु २० करोड ४५ लाख ४० हजार प्रदेश सरकारसँग माग गरिएको हो ।

उक्त गुरुयोजना कार्यान्वयन मूल समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई भेटी मागसहितको ज्ञापनपत्र बुझाएको थियो ।

नेपालको धरोहरका रुपमा रहेको ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको तनहुँसुरमा विभिन्न योजना निर्माणका लागि रकम माग गरिएको अध्यक्ष धु्रवराज पण्डितले जानकारी दिए । व्यास नगरपालिका–११ मा आयोजित कार्यक्रममा पण्डितले मुख्यमन्त्रीसमक्ष उक्त मागपत्र प्रस्तुत गरेका थिए ।

बृहत् गुरुयोजनाअन्तर्गत तनहुँसुरमा पर्यटकीय पूर्वाधार निर्माण गरिने र त्यसका लागि बजेट अभाव रहेको उहाँले बताउनुभयो । “गुरुयोजना बनाएर तनहुँसुरको विकासमा लागेका छौँ, बजेट छैन”, अध्यक्ष पण्डितले भने, “प्रदेश सरकारमार्फत बजेट विनियोजन गराउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छौँ ।”

समितिले तनहुँसुरमा प्रवेशद्वार, ढुङ्गाको सिँढी, सङ्ग्रहालय, दृश्यावलोकन, भवन निर्माणलगायत पूर्वाधार निर्माण गर्ने प्रस्ताव गरेको छ । तीन वटा प्रवेशद्वार निर्माणका लागि रु ३६ लाख, ढुङ्गाको सिँढी तथा रेलिङसहितको पैदलमार्ग निर्माणका लागि रु ३० लाख, सङ्ग्रहालय निर्माणका लागि रु ५५ लाख, दृश्यावलोकन भवन निर्माणका लागि रु ४० लाख, सामुदायिक घरबास प्रवद्र्धनका लागि रु ७५ लाख, खानेपानीको व्यवस्थाका लागि रु २० लाख बजेट माग गरिएको हो ।

यसैगरी भोरथोकगढी पार्क निर्माणका लागि रु ३५ लाख, वनभोज टहरा निर्माणका लागि रु छ लाख, स्टिलका बेञ्च निर्माणका लागि रु सात लाख, तनहुँसुर खड्गकाली मार्ग कालोपत्रका लागि रु ७५ लाख, कुँडापानी धानगोदाम कनिकेचौतारो पर्यटन मार्ग कालोपत्रका लागि रु ४५ लाख, गद्दीचौतारा तनहुँसुर कालिका केबलकार निर्माणका लागि रु ५० लाख बजेट माग गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त योजनाका लागि बजेट विनियोजन गर्न मुख्यमन्त्रीसमक्ष आग्रह गरिएको र सकारात्मक प्रतिक्रिया प्राप्त भएको उहाँले बताए ।

तनहुँसुर सेन वंशीय राजाले राज्य गरेको ठाउँ हो । तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अप्रभंस भएर रहेको भन्ने किम्वदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य गरेको इतिहास छ ।

तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढी, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँघु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।

सन् १६७५ तिर पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए । तनहुँसुरको बारेमा प्रकाशित पुस्तक ‘मोतीको माला’मा उल्लेख भएबमोजिम राजा मुकुन्दसेनको मृत्यु पछि तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । भृङ्गीसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी हो हुने भन्ने विषयमा विवाद चलेको बताइन्छ ।

उक्त विवादमा दल भञ्ज्याङका रणभन्जन थापाले सहयोग गरेकाले राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजगद्दीबाट हटाएका थिए । राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई ‘तनहुँसुरको राजा तँ न हो’ भनेकाले तनहुँ र भाइ धर्माङ्गद सेनले ‘ल म जुङ्ग’ भनेकाले लमजुङ नाम बन्न गएको किम्वदन्ती छ । तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन र लमजुङका राजा वीरमर्दन शाह मनाङ, मुस्ताङ, पर्वत र पाल्पाको बाटो हुँदै शासनभार त्यागेर तनहुँको विरासत राज्य रामनगरमा पुगेर विश्राम लिएको बताइन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu