Connect with us
Kapilvast Forest

प्रभावशाली मानिएका वृजेश कुमार गुप्ता एमाले प्रवेश, ओलीले गरे स्वागत

२०७८, १४ चैत्र सोमबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको राजनीतिमा प्रभावशाली मानिएका प्रतिनिधि सभा सदस्य वृजेशकुमार गुप्तासँगै सयौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।

कपिलवस्तुमा मधेस केन्द्रित दलहरूको शक्ति कमजोर बनेपछि संघीय सांसद गुप्तासँगै लुम्बिनी प्रदेश सभाका सदस्य धर्मबहादुरलाल श्रीवास्तवलगायत पूर्व जनप्रतिनिधि र वर्तमान जनप्रतिनिधिहरू सोमबार एमाले प्रवेश गरेका हुन्।

उनीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीका माला लगाइदिएर एमालेमा स्वागत गरेका थिए।

सोमबार एमाले प्रवेश गर्नेहरूमा कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, वडा नम्बर १ का वडा अध्यक्ष सुदीप पौडेल, वडा नम्बर ४ का वडा अध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडा अध्यक्ष ओम प्रकाश पाण्डेय छन्।

त्यस्तै, बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शहबुद्धिन मुसलमान, कृष्णनगरका युवा नेता कुनाल प्रताप शाह, राप्रपाका नेता खेमराज लगायत रहेका छन्।

एमाले कपिलवस्तुले सोमबार गुप्ताको नेतृत्वमा ७ हजार र कुनाल प्रताप शाहको नेतृत्वमा ३ हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको दाबी गरेको छ।

संघीय सांसद गुप्ता २०७४ सालमा एमाले नै प्रवेश नगरी सूर्य चुनाव चिह्न लिएर निर्वाचन लडेका थिए। संघीय संसदमा पनि एमाले सांसदकै भूमिकामा रहेका गुप्ता सोमबार औपचारिक रूपमा एमाले प्रवेश गरेका हुन्।

राप्रपाका नेता रहेका स्वर्गीय भगवानदास गुप्ताका छोरा समेत रहेका गुप्ता यसअघि कपिलवस्तुबाट पटक/पटक निर्वाचित भएका थिए।

०५६ सालमा भएको संसदीय चुनावमा उनी राप्रपाबाट विजयी भएका थिए। ०६४ सालमा मधेस आन्दोलनको प्रभावपछि तत्कालीन तराई-मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा आवद्ध भएका उनी सोही पार्टीबाट ०६४ को पहिलो संविधान सभाको चुनाव जितेका थिए।

त्यस्तै, २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा पनि तमलोपाबाट निर्वाचन लडेका उनी २०७४ सालमा एमालेको सूर्य चिह्न लिएर चुनाव लडेका थिए।

हृदयेश त्रिपाठीले नेतृत्व गरेको स्वतन्त्र समूहले एमालेसँग विभिन्न बुँदामा सहमति गरी सूर्य चिन्ह लिएर उम्मेदवार उठाएको थियो। त्यसैको फाइदा उठाउँदै गुप्ता वाम-गठबन्धनबाट साझा उम्मेदवार बनेका थिए।

अहिले त्रिपाठीको स्वतन्त्र समूहले जनता प्रगतिशील पार्टी खोल्न पुगे पनि गुप्ता भने एमाले प्रवेश गरेका हुन्।

लुम्बिनी प्रदेश सभाका सदस्य धर्म बहादुरलाल श्रीवास्तव पनि सूर्य चिन्ह लिएर निर्वाचन जितेका थिए।

सूर्य चिन्ह लिएरै निर्वाचन जितेका श्रीवास्तव शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारका मन्त्री समेत भएका थिए।

निर्वाचनका मुखमा पार्टी प्रवेश गरेको भन्दै कतिपय एमाले कार्यकर्ता तथा उनीहरूका समर्थकहरूले समेत आलोचना गर्न थालेका छन्।

५ वर्षसम्म एउटा पार्टीमा रहेकाहरू चुनावी हिसाबकिताब गरेर अर्को पार्टीमा प्रवेश गर्न थालेपछि पार्टिभित्रै समेत असन्तुष्टिका आवाज उठ्न थालेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu