लुम्बिनी प्रदेशमा गठबन्धन : मतको आधारमा उम्मेदवारी बाँडफाँडको तयारी
बुटवल — लुम्बिनी प्रदेशमा गठवन्धन दलहरुले मतको आधारमा उम्मेदवारी बाँडफाँडको तयारी गरेका छन् ।स्थानीय तहको निर्वाचनमा विगतको मतको आधार, उम्मेदवारको लोकप्रियताका आधारमा तालमेल गरेर चुनावी मैदानमा जाने अन्तिम तयारी गरिरहेको नेताहरुले बताएका छन् । लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजित एक कार्यक्रममा स्थानीय तहमा दलहरुको राजनीतिक अवस्था विषयक साक्षात्कार कार्यक्रममा बोल्ने दलका नेताहरुले अहिले वडास्तरबाटै तालमेल गर्ने तयारी भएको बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरबहादुर पुनले गठबन्धन दलभित्र पार्टीहरुले आ–आफ्नो मत आधार संकलन गरिरहेको र त्यसैका आधारमा उम्मेदवारी दिने बताए । यसो गर्दा हार्ने सम्भावना नरहने लुम्बिनी प्रदेशमा गठबन्धनको जीत हुने र अत्यधिक बहुमत आउने दाबी उनले गरे । ‘गठबन्धन दलहरुले चुनावी तालमेलमा अक्षरस पालना गर्छौं । जो उठेपनि साझा उम्मेरदवार बनाउर्छौंं,’ उनले भने ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा नेकपा माओवादी केन्द्रका संसदीय दल लुम्बिनी प्रदेशका प्रमुख सचेतक तुलाराम घर्तीले सत्ता गठबन्धनलाई स्थानीय मात्र नभइ अन्य निर्वाचनमा पनि निरन्तरता दिने बताए । प्रदेशका सबै स्थानीय तहहरुमा आफ्नो पार्टीले सर्कुलर गरेको र जसअनुसार पालिकामा निर्वाचन संयन्त्र परिचालन समिति गठनको छलफल भइरहेको उनले बताए ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले भने एमाले जनताको प्रिय पार्टी भएकाले जस्तोसुकै गठबन्धनले फरक नपार्ने बताए । उनले लुम्बिनी प्रदेशमा आफ्नो पार्टीले ६० प्रतिशत जित हात पार्ने दाबी गरे । प्रदेशका १ सय ९ वटा पालिकाहरुको सर्वेक्षण अनुसार यस्तो देखिएको उनको दाबी थियो ।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य छन्द पन्थीले ठूला दलका नेताहरुले झुटको राजनिति गर्दै आएको बताए । उनले ठूला दलको होडबाजीले गठबन्धन निर्माण भएको बताए । निर्वाचनका बेला मीठा भाषण र जनतालाई आश्वासन दिने दलहरुले निर्वाचन पश्चात् प्रतिबद्धता पूरा नगर्ने गरेको भन्दै ‘बेइमानीको राजनीति’ नगर्न सुझाव दिए ।