कृषकलाई मसुरो तथा गहुँ भित्र्याउन भ्याई नभ्याई
बारा- बेमौसमी बर्षाबाट जोगाउन बाराका कृषकलाई यस बर्ष खेती गरेको दलहन मसुरो तथा गहुँ बाली भित्र्याउन भ्याई नभ्याई भएको छ । पाकेको गहुँ बालीलाई बेसौमी बर्षाबाट क्षती हुनबाट जोगाउन कृषकले बाली भित्र्याउन बिहानैदेखि खेतमा व्यस्त रहने गरेका छन् ।
बाराका कृषकले यस बर्ष बिभिन्न जातका दलहन बाली मसुरो, रहर, मुङ्ग, र नेपाल २९७, ७९१ भृकुटी, किष, आदित्य, डब्बलु १४०४ जातका गहँु कुल २९ हजार ७०० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर २.८ मेट्रिकटनले ८३ हजार १६० मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बारा कलैयाले जनाएको छ ।
गत बर्ष जिल्लामा २९ हजार ५०० हेक्टर क्षेत्रफलमा गँहु खेती हुँदा प्रतिहेक्टर २.८ मेट्रिक टनले ८२ हजार ६ सय मेट्रिक टन गहुँ उत्पादन भएको थियो । गत बर्षको तुलनामा यसबर्ष गँहुखेती २ सय हेक्टर बढी क्षेत्रफलमा भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्रप्रसाद यादवले बताउनुभयो । यो बर्ष जिल्लामा तीन हजार प्रतिक्वीन्टल गँहुको कारोवार भइरहेको छ ।
चालु आर्थिक बर्षमा जिल्लाका १६ वटा स्थानीय पालिकाका कृषकहरुले ११ हजार ७५० हेक्टर क्षेत्रफलमा दलहन खेतीगरी कुल ११ हजार २८० मेट्रिक टन दाल अनुमानित उत्पादन हुने उहाँले जानकारी दिनुभयो ।
गत बर्ष ११ हजार ५५० हेक्टर क्षेत्रफलमा ११ हजार ८८ मेट्रिक टन मसुरो, रहर, मुङ्ग लगायतको दाल उत्पादन भएको थियो । चैत १५ गतेदेखि दलहन तथा गँहु काट्ने कार्य सुरु भएको र बैशाख मसान्तभित्र जिल्लाका अधिकांश ठाउँको गँहु काटिसक्निे अनुमान गरिएको कृषकहरुले बताएका छन् ।