आँपमा मधुवा रोग
महोत्तरी-पात र हाँगासमेत नदेखिने गरी आँपका रुखमा मज्जर (मञ्जरी, फूल)ले ढाक्दा दङ्ग परेका किसान अब दिक्क हुन थालेका छन् ।यसपाली आँपमा राम्रो मज्जर खेल्दा मनग्गे आम्दानी लिने आसले फुरुङ्ग परेका भङ्गाहा नगरपालिका-४ रामनगरका किसान गङ्गाराम महतोको खुसी मधुवा (आँपको मज्जरमा लाग्ने रोग)का कारण धेरै दिन टिकेन । आफ्नो बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी लागेको पहेंलपुर मज्जर मधुवाले डढाएर सखाप पारेकाले उनको खुसी हराएको हो ।
महतोजस्तै सोही बस्तीका बासु बराल, गुणराज दाहाल, सतिश पाण्डे, अरुण गिरी, हरिदेव साह, सत्यनारायण यादव र भजन महतो पनि आँपको मज्जरमा मधुवाले भुसुक्कै पारेकाले पिरोलिएका छन् ।
‘फूल फुलेको देख्दा यसपालि राम्रै आम्दानी लिने सपना बुनेका थियौँ’, फलफूल किसान हरिदेव साहले भने, ‘राम्ररी टिकोला ९चिचिला० नै लाग्न नपाई मज्जरनै डढ्यो ।’ मधुवाको प्रकोपले व्यावसायिकरुपमै फलफूलखेती गर्ने यहाँका किसान निरास भएका छन् । फलफूल खेतीलाई नै गुजाराको मुख्य पेसा बनाएका किसानमा रोगको प्रकोपले चिन्ता बढाएको हो ।