वैशाख मसान्त भित्रमा रत्न मन्दिर र हिमागृह खुल्छन् : मन्त्री आले
पर्वत – नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पोखरामा रहेका सम्पदाहरू रत्न मन्दिर र हिमागृहलाई वैशाख मसान्तभित्र खुलाउने बताएका छन्।
बुधवारदेखि पोखराको लेकसाइडमा सुरु भएको सत्रौँ संस्करणको फेवा नव वर्ष महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री आलेले सम्पदा खुला गराउनको लागि आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी गराए।
‘२०७९ वैशाख ३० गतेभित्र हामी यो रत्न मन्दिर र हिमागृह सञ्चालनमा ल्याउने तयारीमा रहेका छौँ,’ उनले भने, ‘यहाँ भएका भौतिक पूर्वाधार निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बजेटको व्यवस्था गर्नेछ भन्ने कुरा म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु। पर्यटन प्रवर्द्धनको लागि यी सम्पदाहरू खुलाउनुपर्छ।’
पोखराका पर्यटन व्यवसायीहरूले पर्यटन व्यवसायलाई माथि उठाउनका लागि सम्पदाहरू बन्द गरेर राख्नु नहुने माग पटक पटक राख्दै आइरहेको बेलामा मन्त्री आलेले पोखरामा रहेका सम्पदा खुल्ने कुरामा ढुक्क हुन पर्यटन व्यवसायीहरूलाई अनुरोध गरेका हुन्।
उनले पोखरामा ठूला ठूला होटलहरु समेत सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए। साथै उनले पोखरालाई पर्यटकीय राजधानीका रूपमा घोषणा गरिने पनि बताएका छन्।
गणतन्त्र घोषणा पछि नारायणहिटी दरबार लगायत तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्य तथा उहाँका परिवारको सम्पत्ति नेपाल ट्रस्टको मातहतमा ल्याएर दरबारहरू खुला गरिँदा समेत पोखराका यी दुई दरबार भने लामो सयमदेखि बन्द रहँदै आएका छन्।
पश्चिमाञ्चल होटेल सङ्घ पोखराको आयोजनामा सुरु भएको दुई दिने महोत्सव वैशाख १ गते सम्म चल्ने छ।
नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव सञ्चालन गरिएको आयोजकले जनाएको छ।
स्थानीय फिस्टेल गेटदेखि हल्लन चोक बीचको तीन किलोमिटर लामो सडकमा यो महोत्सव गरिएको हो।आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्दै कोभिड– १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्देश्य पनि महोत्सवले लिएको छ।
कोभिडकै कारण लगातार दुई वर्ष स्थगित महोत्सवलाई पुनः निरन्तरता दिन लागिएको हो।नेपालका मुख्य शहरहरूमा अङ्ग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको छ।