मिथिलामा ‘जुडशीतल’ पर्व मनाइँदै
महोत्तरी-मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज (शुक्रबार) ‘जुडशीतल’ पर्व मनाइँदै छ । प्राचीन मिथिलामा मनाइने यो पर्व मधेशका जिल्लाका अतिरिक्त मित्रराष्ट्र भारतका मधुवनी, झञ्झारपुर, सीतामढी र शिवहरसहितका जिल्लामा पनि प्रचलनमा छ ।
विक्रम संवत् परम्पराको प्रत्येक नयाँ वर्ष (वैशाख सङ्क्रान्ति)मा ‘जुडशीतल’ पर्व मनाइन्छ । दुई दिन मनाइने पर्व पहिलो दिन (सङ्क्रान्तिका दिन) ‘सतुवाइन’ र भोलिपल्टलाई ‘जुडशीतल’ भनिन्छ । उल्लास र सहकालको प्रतीक मानिने यो पर्वले महोत्तरीसहितका मधेश प्रदेशका प्राचीन मिथिला क्षेत्र उल्लासमय बनेका छन् ।
बढ्दो गर्मी र लगातार बहँदो तातो हावाबीच सुुरु हुने विक्रम सम्वत् परम्पराको नयाँ वर्षको प्रारम्भमा ‘जुडशीतल’ मनाइने मैथिल परम्परा छ । नयाँ वर्षमा जीवनमा शीतलताको कामना गर्दै मनाइने यो पर्वका खाद्य परिकार पनि गर्मीमा शीतल गर्ने मान्यताभित्र खाइन्छन् । वैशाख सङ्क्रान्ति अर्थात् नयाँ वर्ष प्रारम्भ भएकै दिन जुडशीतल पर्व सुरु हुन्छ ।
पहिलो दिन (वैशाख सङ्क्रान्ति) चना (बदाम), जौं, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, व्राह्मण र साधुलाई दान गरिन्छ । बढ्दो गर्र्मीमा शरीरमा शीतलता दिने चना, मुँग र जौँका परिकार यस पर्वमा विशेष मानिन्छन् । यसलाई बोलीचालीमा ‘सतुवाइन’ भनिन्छ ।