Connect with us
Kapilvast Forest

आम्मै नानी! तँ कति मोटाकी!

२०७९, ४ बैशाख आईतवारमा प्रकाशित

मिमांशा ढुंगेल-
मलाई घरमा नयाँ मान्छे आएको हत्तपत्त मन पर्दैन। हुन त अतिथि देवो:भव भन्ने मान्यता म हृदयदेखि मान्ने व्यक्ति हुँ । तर आँगन छिर्न नपाउँदै मुख खुम्च्याउँदै आउँछन् कोही कोही , ‘आ-मा-मा-मा नानी तँ कति मोटाइछस्!’

हि हि हि गर्दै ‘दर्शन’ भनेर धेरै जसो टाप कसिदिन्छु।

धेरैपछि पहिलोपल्ट भेट्दा अरू धेरै राम्रा प्रश्न या टिप्पणी हुन सक्छन्। ‘सन्चै छस्? खुसी छस्? वाइफाइको पासवर्ड भन।’ सरोकार नै जनाउन मन लागे ‘नानी तेरो स्वास्थ्य कस्तो छ?,’ सोध्नु। ‘मास्क लगाएर हिँडेस्’ भन्नु।

अहँ! मोटाएको/दुब्लाएकै विषयमा प्रतिक्रिया पोख्न पर्छ।

अचम्मको लगाव छ हाम्रो समाजलाई अर्काको वजनसँग। सानो छँदा म लुरी थिएँ। मरन्च्यासे जीउ, घाँटीबाट हड्डी देखिन्थे। दुब्लो हुँदा पनि कहिल्यै सुख भएन।

‘ए तँ खाँदिनस् कि क्या हो? कठै ! फू गर्दा ढल्ने ज्यान छ। ए अनिता! छोरीलाई खान दिन्नस् कि क्या हो!’

समयसँगै मेरो वजनमा धेरै उतारचढाव आयो। घरी मोटाउँथें, घरी दुब्लाउँथें, मैले खासै कहिल्यै मतलब गरिनँ।

हाम्रो परिवारमा एक जना दिदी हुनुहुन्छ। अलि मोटोघाटो नै हुनुहुन्छ। परिवारको हरेक जमघटमा उनलाई गरेको टोकेसो याद आउँछ।

‘ए तँ त फैलेको फैलिए छस्।अलिकति शरम गर्! कति खाकी ?’

म बच्चै थिएँ। माया नै गरेका होलान् भन्ठान्थेँ। चुप लाग्थेँ।

आफ्नो वरिपरि सधैं शरीर र शरीरको बनोटलाई लिएर हुने गरेको अनावश्यक चर्चासँग म हुर्कंदै गएँ। सामाजिक सञ्जालले पनि यस्तै विषयलाई बढावा दिँदै गयो।

पातला अग्ला मोडेल सानो कम्मर, छरितो ज्यान, समाजले यसैलाई सुन्दर मानिदियो। इन्स्टाग्राम मोडेल, चलचित्रका नायिका सबै यस्तै छवि झल्काउँथे। मानौं सुन्दर भनेकै पातलो हुनु हो। दिनप्रति दिन सामाजिक सञ्जालमा वजन र सुन्दरता जोडिएको देख्दै गएँ।

कति साथीहरू खाना खानै छोड्न थाले। हेर्दा कति स्वस्थ, हिस्सी देखिने साथीहरू अत्यधिक दुब्लाउने प्रयत्नमा लागे। एकदिन एउटा साथी रूँदै फोन गरी ‘मलाई त एनोरेक्सिया छ रे।’ यस्तो भयानक रोग त्यही पातलो हुने चाहनाले निम्त्यायो। मेरा केही साथीहरू टेबलमा सबको अगाडि टन्न खान्थे अनि बाथरूममा गएर सबै वाक्थे। म यो देखेर धेरै तर्सिन्थें।

इन्टरनेटमा मोटो मान्छेलाई गिज्याएको, मोटोपनको मजाक उडाएको देख्दा मन चसक्क दुख्थ्यो। फलानो हिरोइनको वजन बढेछ। छि: कति मोटी, हात्ती इत्यादि। जिरो साइज,जिरो फिगर, स्त्रीको शरीरलाई यसरी नै मूल्यांकन गरिन थालियो।

पछिल्लो समय मैले केही औषधि सेवन गर्नुपरेको थियो। त्यो औषधिको साइडइफेक्ट भने त्यही मोटाउने रहेछ। अचानक मेरो वजन बढ्यो। दोष मेरो केही थिएन। तर म आफैंलाई दोषी ठान्न थालेँ। घरबाहिर निस्किनै छाडेँ। साथीहरूले पनि जिस्क्याउँछन् भनेर कसैसँग भिडिओ कल गरिनँ। आफ्ना शरीरमा निकै ठूलो हुने कपडामात्र लगाएँ। मानौं मेरो शरीरको वजन बढ्यो तर आत्मविश्वास सबै उडेर गयो।

असाध्यै फोटो खिच्न मनपर्ने मान्छे, फोटो खिच्न छोडिदिएँ, फोटो हाल्न पनि छोडिदिएँ। मलाई लाग्न थाल्यो मेरो वजन बढेझैं काला बादलले सूर्य घेरेझैं मेरो जीवनको उज्यालो खोसियो।

सँगैमा मेरी बहिनी असाध्यै दुब्लाएकी थिई। उसलाई पनि सुख थिएन। नरूची नरूची खाना कोच्याइन्थ्यो। भोक लाग्दा पनि मैले कम खानुपर्न, उसले पेट फुट्ने गरी बढी।

‘तँ एक मुठ्ठी कम नै खाँ। सानीलाई दे बरू।’

चुपचाप बस्थेँ। धेरै प्रतिकार गर्न मन लाग्थेन। एकदिन बाटोमा आमाछोरी हिँड्दै थियौं। हाँसोको ठूलो चित्कार सुनियो। गललल्ल कोही हाँसेको सुनियो। पछाडि फर्केर हेर्दा छिमेकी आन्टी र उनकी छोरी रहेछन्। नजिकै आएर, ‘छोरी त आमा भन्न सुहाउने जत्रो भएछ’, भने। मलाई नरमाइलो लाग्यो। त्यो केवल ठट्टा थिएन,निन्दा थियो।

मैले सराप्न थालेँ ती दुईलाई। आमाले भनिन्, ‘तिनीहरूको बुद्धिलाई धिक्कार! छाड्दे छाड्दे।’

मेरा दुब्ला साथीहरूलाई समेत यसैगरी पिरोल्दा रहेछन्। हड्डी, मुर्कुट्टा, मरन्च्यासी के के नाम हो। अंग्रेजीमा शब्द छ,’बडी शेमिङ’ कसैले शरीरको आधारमा होच्याउनु,गिज्याउनु। बडी शेमिङ अहिलेको शब्द होइन। नेपाली समाजले यसमा स्नातकोत्तर गरेको छ। भेट हुँदा केही काम पाउँदैनन् धेरै जसो, ‘फलानो कति मोटाइ, ढिस्कानो कति दुब्लाइ।’

यसरी मोटो भन्दा भन्दा वाक्क भएर एउटा दाइलाई खुब जोस चलेछ। निकै नै वजन घटाए। अग्लो ज्यान, साह्रै दुब्लाए।

फेरि खुसफुस चल्यो, ‘राम राम कति दुब्लाएको यो। ड्र्ग्स लिन थाल्यो जस्तो छ। एचआइभी पोजेटिभ मान्छेजस्तो!’

लौन यो कस्तो विडम्बना! समाजको टिप्पणी वरिपरि घुमेको छ कि क्या हो हाम्रो शरीर।

महिला सशक्तीकरण, महिलावादका ठूलाठूला कुरा गर्छन् सौन्दर्य प्रतियोगितामा पनि। तर हास्यास्पद कुरो नेपालकै मिस नेपालमा तौल र उचाइको मापदण्ड छ।

भर्खरै मिस युनिभर्स भएकी हर्नाज सान्धु अहिले निकै चर्चामा आइन्। कारण उनको वज । ताज पहिरिँदा भन्दा अहिले उनी अलिकति मोटाएकी छिन्। उनले यसको कारण पनि खुलाइन्। उनलाई सेलियाक डिजिज भन्ने रोग लागेको रहेछ। मिडिया र पत्रकारले उनलाई निकै सताए। इन्टरनेटको भाषामा भन्दा ट्रोल गरे, ‘मिम’ बनाए। यसले हाम्रो समाजको मानिसलाई हेर्ने धारणा प्रष्ट झल्काउँछ। मान्छेलाई उसको बुद्धिमता, करूणा, बौद्धिकता हैन उसको बाहिरी आवरण शरीर अझ भनौं वजन हेरेर दाँजिन्छ।

एकदिन हामीकहाँ एकजना पाहुना आए। टन्न भात खाए अनि घाममा आफ्नो ठूलो पेट पल्टाउँदै ढल्किए।

भन्न थाले,’हेर नानी। तँलाई एउटा कुरा भन्छु। नरिसा! केटी मान्छे भएर मोटाउनु हुँदैन। कसले बिहे गर्छ ?’

झनक्क रिस उठ्यो। उनलाई हेरें। उनको शरीर हेरेँ। प्याच्च भन्न मन थियो, आफूलाई हेर्नू नि पहिला! तर संयमित भएँ। मर्यादामा बसेँ। माया शरीर हेरेर हुन्छ र अंकल ? झन् मोटीघाटी खाइलाग्दी रहिछ भन्छन् भनेर खितिती हाँसिदिएँ।

मोटोपनले धेरै रोग निम्त्याउँछ। यो विषयमा कोही अनभिज्ञ छैन। डाइबिटिज,थाइराइड,दमजस्ता अनेक रोगको घर हो मोटोपन। मुटुसम्बन्धी रोग,कोलेष्टेरोल इत्यादि सबै। तर यी रोगका बारेमा चेतावनी दिनु र सरासर बडीशेम गर्नुमा आकाश जमिनको फरक छ।

स्वास्थ्यको ख्याल राख्न प्रेरित गर्न सक्नुपर्छ। सकारात्मक किसिममा मानिसलाई स्वास्थ्यवर्द्धक खाना खान, कसरत गर्न भन्न सकिन्छ। यो त एउटा बानीव्यहोरा हो, जीवन सुधार्ने क्रियाकलाप हो।

‘तँ त साह्रै मोटाइस’ भन्नुको साटो ‘हिँड सँगै जिम जाऊँ’ भन्न सकिन्छ।

मान्छे के कारणले मोटाउँछ या दुब्लाउँछ कहिलेकाहीँ उसको हातमा हुँदैन। औषधिको असर, रोग, मानसिक विक्षिप्तता, कयौं कारण छन्।

मान्छेका कति गम हुन्छन्,कति पीडा हुन्छन्,केही नबुझी प्याच्च शब्दरूपी वाणले घोच्दा आत्मा छियाछिया हुन्छ।

समाजमा परिवर्तन आउँदै छन्। ‘बडी पोजिटिभिटी’ को वकालत सबैले गर्छन्। मलाई मनपर्ने गाइका एडेल पहिले र अहिले नचिनिने भएकी छिन्। स्वस्थ जीवन बाँच्न उनले सकारात्मक रूपले वजन घटाइन्।

रेवेल विलसन त्यस्तै अर्की नायिका हुन्।

आफ्नो वजनलाई सहर्ष स्वीकारेका अन्य व्यक्तिहरू गायिका लिज्जो,भारतीय हास्य कलाकार भारती सिंह कति छन् कति।

हाम्रो समाजले बुझ्न जसरी छ। समाज कयौं प्रकारका मानिसको मिश्रण हो। मोटो, पातलो, अग्लो, होचो, कालो गोरो। यही विविधता नै समाजको मिठास हो।

हरेक मानिसलाई आफू सुन्दर छु भन्ने महसुस गराउन सक्नुपर्छ। सुन्दरता शरीरको वजनमा हैन, हृदयको धड्कनमा हुन्छ।

अरूको शरीरको वजनले तपाईंलाई त्यस्तो फरक पर्छ भने झन् आफूले बोलिएका शब्दमा कति वजन हुन्छ, सोची सम्झी पेश गर्नुपर्छ।

ऐनामा हेर्दा आफूमा परिवर्तन गर्न चाहे, स्व:स्फूर्त रूपमा मानिसले परिवर्तन गर्नसक्छ। वजनसम्बन्धी कुरा गर्दा ‘विष वमन’ नगरेकै बेस।

म सानो हुँदा बच्चा मै, अबुझ हुँदा एउटा साथीलाई मोटे भनेर जिस्क्याइदिएछु। उसले निकै नराम्रो मान्यो।

भोलिपल्ट आमा नै लिएर आयो।

अफिसमा लगेर दाह्रा किट्दै रिसले आन्टीले भनिन्,‘आफ्नै बाउको खाएर त मोटाएको छ,तिम्रो बाउको खाको छ र!’

त्यतिखेर कस्ती छुच्ची आन्टी लागेको थियो।

त्यत्रो सानो बच्चालाई के भनेको होला भनेर। तर अन्जानमा ती आन्टीले त मलाई समाजको मुखमा झापड हान्ने ब्रम्हास्त्र दिएकी रहिछन्।

म बिस्तारै आफ्नो शरीरमा भएको परिवर्तन स्वीकार्दै छु। विस्तारै आत्मविश्वास फर्कंदै छ।

कोही सिलपट आएर, ‘आम्मै कति मोटाकी भनोस त!’

म नि भन्दिन्छु ‘तेरो बाउको खाएर मोटाको छ र! आफ्नै बाउको खाको त छु नि!’ -सेतोपाटीबाट

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu