पल प्रकरण : ‘पीडित’ले अदालतमा बयान फेरिन्, होस्टाइल बनाइएको संकेत
काठमाडौं – अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् ।आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् ।पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । जाहेरीकर्ताका बुवाको भने बकपत्र लिन बाँकी छ ।
नाबालिग गायिका होस्टाइल बनेसँगै मुद्दामा ट्विस्ट आएको छ । उनको बकपत्रले पल शाह पक्षमा खुसीयाली छाएको छ ।यसबीचमा पलको परिवारले गायिकाको परिवारलाई प्रभावमा लिएर बयान फेर्न प्रेरित गरेको आशंका गरिएका छन् ।
उनको पक्षबाट गएका एक वकिलले भने– होस्टाइल भइन्, बयान पूरै रेडिमेट दिइरहेकी छन् । आफूलाई पलले करणी नगरेको भन्दैछिन् । प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिए त्यहि सारेकी हुँ भनिन् । जबकी उनले प्रहरी समक्ष आफूलाई पलले पोखरा, तनहुँ र गैंडाकोटमा गरेर तीनपटक करणी गरेको बताएकी थिइन् । एकाएक अहिले सबै उक्साहटमा हो भन्दैछिन् ।बयान फेरेको अवस्थामा अदालतले ६ वर्षसम्म कैद गर्ने कानूनी व्यवस्था छ ।