Connect with us
Kapilvast Forest

आफ्नै गाउँपालिकामा महन्थ ठाकुरलाई चुनौती

२०७९, ७ बैशाख बुधबारमा प्रकाशित

mahantha_thakur.jpg

 

काठमाडौं -लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई आफ्नै गाउँमा नेकपा एमालेले चुनौती दिएको छ । ठाकुरको गाउँपालिका पिप्रा (महोत्तरी) मा स्थानीय तह निर्वाचन केन्द्रित मामिलामा एमालेले चुनौती बढाएको हो ।

 

१७ हजार ९२५ मतदाता रहेको सो गाउँपालिकामा महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट विनोद चौधरी अघिल्लो चुनावमा अध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यतिबेला एमालेका तर्फबाट विक्रम चौधरी दोस्रो स्थानमा थिए भने तेस्रोमा माओवादी, चौथोमा काँग्रेस र पाँचौँमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल अर्थात अहिलेको जसपा थियो ।

२०७६ वैशाखमा पिप्रा गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको निधन भयो । त्यसपछि भएको उपनिर्वाचनमा एमालेबाट विक्रम चौधरी ३ हजार २२८ मतका साथ विजयी भएका थिए । पहिलो चुनावमा चौथो भएको जसपा उपनिर्वाचनमा दोस्रो भएको थियो भने राजपा अर्थात लोसपा तेस्रो, माओवादी केन्द्र चौथो र काँग्रेस पाँचौँमा पुग्यो ।

लोसपाले उपनिर्वाचनमा पूर्व अध्यक्ष विनोद चौधरीकी पत्नी रविता चौधरीलाई उम्मेदवार बनाएको थियो तर उनी तेस्रो स्थानमा सीमित भइन् । सो पालिकामा सातवटा वडा छन् । त्यसमध्ये लोसपाले तीनवटा जितेको छ भने एमालेले दुई, माओवादी केन्द्र र जसपा एक–एक वडामा सीमित छन् । काँग्रेसले कुनै पनि वडा हात पार्न सकेको थिएन ।

यी चार दलमध्ये अहिले पनि सो पालिकामा एमाले बलियो देखिन्छ । लोसपाबाट गाउँपालिकाको उपप्रमुख निर्वाचित ननु कुमारी दास पनि एमालेमा गइसकेकी छन् । ​प्रिपा गाउँपालिका अध्यक्ष एवं एमालेका नेता विक्रम चौधरी एमालेको अवस्था बलियो रहेको बताउँछन् । ‘यो गाउँपालिकामा लोसपाका अध्यक्ष महन्थ ठाकुरको घर भयो त के भयो ? एमालेलाई केही फरक पर्दैन, एमालेका लागि यो गाउँपालिका पुरानो गढ हो,’ उनले भने, ‘धेरै पहिलादेखि यहाँ एमालेले जित्दै आएको छ, प्रतिनिधिसभा चुनावमा पनि काँग्रेसले साथ नदिएको भए महन्थ ठाकुरलाई चुनाव जित्न गाह्रो थियो ।’

पिप्रा गाउँपालिका साविकका विभिन्न पाँचवटा गाविस मिलेर बनेको छ । तीमध्ये विगतमा एमालेले चारवटा गाउँमा जितेको थियो । चौधरीका अनुसार धेरै पहिलादेखि एमालेले त्यहाँ आफ्नो वर्चस्व कायम गर्दै आएको हो । उनका अनुसार लोसपाका मेयरसहित थुप्रै नेता एमालेमा प्रवेश गरिसकेका छन् । उनले भने, ‘अगामी चुनावमा एमाले र लोसपाबीच प्रतिस्पर्धा हुन्छ ।’ गाउँपालिका अध्यक्षका लागि एमालेबाट पाँच जनाको नाम सिफारिस भएको छ ।

जसपाका नेता अजय झा भने उपनिर्वाचनमा आफ्नो पार्टीको शीर्ष नेताले ध्यान नदिएका कारण यो पालिकामा जसपा पराजित भएको बताउँछन् । आसन्न चुनावमा त्यस्तो गल्ती नहुने भन्दै उनले आफ्नो पार्टीले नै जित हासिल गर्ने दाबी गरे ।

काँग्रेसका नेता विजय यादव भने विगतको भन्दा अहिले काँग्रेसको संगठन राम्रो भएको दाबी गर्छन् । ‘विगतको चुनावमा पार्टीभित्र केही अन्तरघात भएको थियो भने पार्टीका शीर्ष नेताहरुले पनि यो गाउँपालिकाप्रति त्यति ध्यान नदिएका कारण कमजोर भएको थियो,’ उनले भने, ‘तर आगामी चुनावमा त्यस्तो हुँदैन ।’

उनले पिप्रा गाउँपालिका विगतमा एमालेको गढजस्तै भए पनि पछिल्लो समय एमालेमा आएको विभाजन र मधेसमा ओलीको विरोधका कारण सो गाउँपालिकामा अहिले एमाले कमजोर भएको दाबी गरे । उनका अनुसार सत्तारुढ गठबन्धनबीच यो पालिकामा तालमेलका लागि प्रयास भएको थियो । तर, जसपाले आफूलाई नै अध्यक्ष पद चाहिने भनेपछि तालमेल हुने सम्भावना कम देखिएको उनले बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu