९ महीनामा साढे २८ अर्ब रुपैयाँको सुन आयात
काठमाडौं – चालु आर्थिक वर्ष २०७८/ ०७९को ९ महीनामा साढे २८ अर्ब रुपैयाँ बढीको सुन आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको साउन देखि चैतसम्मको तथ्यांक अनुसार उक्त सुन आयात भएको हो । तथ्यांक अनुसार सो अवधिमा २८ अर्ब ५४ करोड ९० लाख ४ हजार रुपैयाँ बराबरको सुन आयात भएको हो ।
सो अवधिमा ४ हजार किलोग्राम सुन आयात भएको भन्सार विभागले जानकारी दिएको छ । सुन आयातबाट सरकारले ३ अर्ब ४८ करोड ३ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जानकारी दिएको छ ।
मूख्यगरी युनाइटेड अरब इमिरेट्स (यूएई) र टर्कीबाट नेपालमा सुन आयात भएको विभागले उललेख गरेको छ । ९ महीनामा सबैभन्दा बढी यूएईबाट ३२ लाख ३३ हजार ग्राम सुन आयात भएको र सोका लागि २२ अर्ब ६२ करोड २ लाख ५४ हजार रुपैयाँ बाहिरिएको भन्सार विभागले जानकारी दिएको छ ।
टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख ६१ हजार ५०० ग्राम सुन आयात भएको विभागको तथ्यांक छ । केन्द्रीय बैंकले विलासिताका वस्तु आयातमा रोक लगाएको छ । विभागका अनुसार पछिल्लो १ महीनामा मात्रै ५० हजार ग्राम सुन आयात भएको छ ।
गत आवको ९ महीनामा २ हजार ७६० किलोग्राम सुन आयात भएको थियो । सोको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ४७ प्रतिशतले सुनको आयात बढेको भन्सार विभागले जानकारी दिएको छ ।