पोखराका पर्यटन व्यवसायीद्वारा दुईदिने बिदाको स्वागत, आन्तरिक पर्यटकको आश
पोखरा -नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने अन्तिम तयारी गरेको थियो । सरकारको यो तयारी र निर्णयसँगै पोखराका पर्यटन व्यवसायीहरूले पनि यहाँ पर्यटन पूर्वाधारमा अर्बौंको लगानी पनि गरेका थिए । तर दुःखद् पक्ष त यो रह्यो कि ती पूर्वाधारमा विश्वका पर्यटकलाई स्वागत गर्ने तयारीको मुखैमा आएर विश्वव्यापीरूपमै कोरोना भाइरसको प्रकोप फैलियो र सबैतिर बन्दाबन्दी भयो ।
यो महामारीले विश्वलाई नै असर ग¥यो र सबै क्षेत्र तहसनहस भए भने पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । यस क्षेत्रमा लगानी गरेका व्यवसायी पनि निराश हुन पुगे । विभिन्न चरणमा देखापरेको कोभिड–१९ यतिबेला खोपको सहजतासँगै निष्क्रिय हुँदै गएपछि पर्यटन क्षेत्र केही चलायमान हुन थालेको छ । यसैक्रममा नेपाल सरकारले आगामी जेठ १ बाट लागू हुने गरी हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि यहाँको पर्यटन क्षेत्र उत्साहित भएको छ । आन्तरिक पर्यटकको चहलपहल बढ्ने र आर्थिक गतिविधिमा थप सहयोग पुग्ने विश्वास लिई यहाँका पर्यटन व्यवसायीले सरकारको यो निर्णयको स्वागत गरेका छन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड–१९ का कारण प्रभावित भएको पर्यटन क्षेत्र केही चलायमान हुँदै आएको अवस्थामा हालै सरकारले गरेको सार्वजनिक बिदाको निर्णय स्वागतयोग्य भएको बताए । उनले भने, “पछिल्लो समय नेपाली समाजमा देश घुम्ने बानीको विकास भएको छ । यो निर्णयले कर्मचारीमा आफूसँगै पारिवारिक घुमघाम गर्ने अवसरसमेत प्रदान गर्नेछ ।” उनले विश्वका करिब एक सय बढी देशहरूमा यस खालको अभ्यास भएको जनाउँदै नेपालमा पनि यसले सकारात्मक नतिजा दिनेमा आफू आशावादी भएको बताए ।
कोभिडपछि धेरै पर्यटकले मानसिक र शारीरिक स्फूर्तिका लागि प्राकृतिक र शान्त स्थानहरूको खोजी गर्दै घुमघाममा निस्कने प्रचलन बढिरहेको जनाउँदै यो विदाले घुम्न चाहनेहरूका लागि थप उत्साह प्रदान गर्ने उनको भनाइ छ । पोखरा आन्तरिक पर्यटकको रोजाइको सहर पनि भएकाले बिदासँगै आन्तरिक पर्यटक र विशेषगरी पारिवारिक घुमघामका लागि पोखरा आउने पर्यटक बढ्न सक्ने उनको अनुमान छ ।