Connect with us
Kapilvast Forest

पाल्पा : नागरिकता नबन्दा ज्येष्ठ नागरिक सामाजिक सुरक्षा कार्यक्रमबाट वञ्चित

२०७९, १७ बैशाख शनिबारमा प्रकाशित

पाल्पा – ‘जवानीमा त मेलापात गरेरै जीवन धानियो, बुढेसकालमा काम गर्न सक्ने तागत छैन, कसरी बाँच्ने हो ?’ यस्तो गुनासो पोख्नुहुन्छ ७८ वर्षीया तुलसा पाण्डेय । बुढ्यौली उमेरमा उहाँलाई आफन्तको स्याहारसुसार, रेखदेख त परै जाओस् बिहान साँझको छाक जोहो गरिदिने कोही छैन ।

रामपुर नगरपालिका–८ बस्ने पाण्डेयलाई न दिनको भोक न रातको निद्राजस्तै भएको छ । बिहान साँझको छाक कसरी टार्ने भन्ने चिन्ताले उहाँलाई पिरोलेको छ । आफन्तको सहाराविहीन पाण्डेयलाई दैनिक गुजारा चलाउन सकस छ । नेपाली नागरिकता नबन्दा सामाजिक सुरक्षा कार्यक्रमबाट वञ्चित हुनुपरेको उहाँ बताउनुहुन्छ ।

नागरिकता बनाउन उहाँले यहाँका जनप्रतिनिधि, राजनीतिक दल, गाउँवासी सबैलाई पटकपटक आग्रह गरिरहनुभएको छ तर अहिलेसम्म नागरिकता पाउन सक्नुभएको छैन । नागरिकतामा परिवारको तर्फबाट प्रमाणित गर्ने व्यक्ति नहुँदा नेपाली नागरिकता पाउनबाट उहाँ वञ्चित हुनुपरेको छ ।

‘नेपाली नागरिकता पाएमा सरकारले दिएको ज्येष्ठ नागरिक भत्ता त पाउँथे, त्यसबाट गुजारा चलाउँथे, सबैसँग आग्रह गरे अहिलेसम्म नागरिकता बन्न सकेको छैन, हामीजस्ता बुढाबुढीलाई सरकारले दिएको सुविधा उपभोग गर्ने व्यवस्था मिलाइदिनुपर्यो’, उहाँले गुनासो पोख्नुभयो ।

त्यही ठाउँकै ७१ वर्षीया फनिसरा ढुङ्गानाको पनि समस्या उस्तै छ । उहाँ पनि नागरिकता पाउने आशामा बसिरहनुभएको छ तर अहिलेसम्म बन्न सकेको छैन । परिवारको अवस्था नाजुक हुँदा अहिले बहिनी बुद्धिमाया भुसालसँग बसोबास गर्दै आउनुभएको छ । नागरिकता आफूसँग नहुँदा ज्येष्ठ नागरिकका लागि सरकारले दिएको सुविधाबाट वञ्चित हुनुपरेको फनिसरा बताउनुहुन्छ।

रामपुर नगरपालिका–२ तिलिङ्डाँडा बस्ने जितमाया थापा नेपाली नागरिक भएर पनि आफू नेपाली हुँ भन्ने प्रमाण साथमा नभएको बताउनुहुन्छ । श्रीमानले अर्की श्रीमती ल्याएपछि उहाँ घरबाट निकाला हुनुभयो । श्रीमानले नागरिकता नबनाइदिएको हुँदा जति सक्दो चाँडो नागरिकता दिलाइदिन सबैसँग अनुरोध गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘श्रीमानले अर्की बिहे गरेपछि मलाई घरबाट निकालिदिनुभयो, बहिनीको घरमा बसिरहेको छु, नागरिकता मात्रै बनेमा सरकारले दिने भत्ता पाइन्थ्यो, त्यसैबाट थोरै भए पनि जीविका चलाइन्थ्यो ।’ परिवारको तर्फबाट प्रमाणित गर्ने सदस्य कोही नभएको र नागरिकता बनाउने प्रक्रियामा नीति नियम, कानुनले गर्दा अप्ठ्यारो परेको रामपुर नगरपालिकाका कार्यवाहक प्रमुख विष्णुदेवी घिमिरे आचार्य बताउनुहुन्छ ।

‘हामीले उहाँहरुको अवस्थाका बारेमा छर्लङ्ग बुझेका छौँ, नागरिकता बनाइ दिन प्रमुख जिल्ला अधिकारीसमक्ष पनि कुरा पुगेकै छ, तर कानुन र नीति नियमलाई पनि अनुशरण गर्नैपर्यो, हामीले चाहेर मात्रै भएन, प्रक्रिया नपुग्दा अप्ठ्यारो भइरहेको छ’, उहाँले भन्नुभयो । जितमाया थापालाई हालै नगरपालिकाले खाद्यान्न व्यवस्थापन, बालबालिकाको शिक्षा सहजता, कानुनी सहायताका लागि ११ हजार रकम, तुलसा पाण्डेय र फनिसरा ढुङ्गानालाई खाद्यान्न व्यवस्थापन तथा औषधि उपचारार्थ सात/सात हजार लैङ्गिक हिंसा निवारण कोषअन्तर्गत रकम सहयोग गरिएको महिला बालबालिका तथा सामाजिक विकास शाखाका महिला सहायक विकास निरीक्षक पूजा परियारले बताउनुभयो ।

वडाले उपलब्ध गराएको सिफारिसको आधारमा समस्यामा परेका अति विपन्न, सहाराविहीन नागरिकलाई नगरपालिकाले सहयोग गरेको छ । सानो भए पनि सहयोग रकम पाउँदा उनीहरु उत्साहित छन् । नगरपालिकाले समस्यामा परेका नागरिकलाई यसभन्दा अगाडि पनि आर्थिक रकम सहयोग गरेको छ ।

आर्थिकरुपले विपन्न, अशक्त, असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँले गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकले सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्न नेपाल सरकारले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu