नेप्से लगातार ओरालो लाग्दा सर्वत्र चासो
काठमाडौं – झण्डै ४४ खर्ब रुपैयाँ बराबर पुगेको बजारको पूँजीकरण पुगेको धितोपत्र बजार पछिल्ला दिनमा क्रमशः ओरालो लागेको छ ।कारोबार मापक नेप्से परिसूचक न्यून विन्दुमा ओर्लिएको छ । यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघले शुक्रवार शेयर बजारका सन्दर्भमा एक छलफल चलायो । छलफलमा नियामक निकायदेखि सरोकारवालाको सहभागिता थियो ।
नेप्से लगातार ओरालो लाग्दा त्यसले लगानीकर्तालाई पनि निराश बनाएको छ । निराशालाई चिर्दै अगाडि बढ्ने लक्ष्यका साथ आयोजित छलफलका वक्ताले बजारलाई परिपक्व बनाउने विषयमा मतैक्यता प्रदर्शन गरेका छन् ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शेयर बजारलाई परिपक्व बनाउने विषयलाई नै केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले बजारको परिपक्वतालाई सबै सम्बद्ध पक्षले गहनरूपमा बुझन् जरुरी रहेको उल्लेख गरे । उनले बुक विल्डिङ विधिलाई पारदर्शी र प्रभावकारीरूपमा अभ्यासमा ल्याउनुपर्ने बताए ।
बजारको सन्तुलन कायम राख्नका लागि संस्थागत लगानीको सहभागिता बढाउनुपर्ने स्पष्ट पार्दै अध्यक्ष हमालले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि साधारण शेयरमा कोटा छुट्याइने विषय आगामी दुई महीनाभित्रमा कार्यान्वयनमा आउने जानकारी दिए।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले परिपक्वता सबै क्षेत्रमा अति नै आवश्यक हुनेमा जोड दिए । उनले ४४ खर्ब रुपैयाँ बराबर पुगेको बजार पूँजीकरण ३१ खर्ब रुपैयाँको हाराहारीमा ओर्लेको भन्दै त्यसको कारण खोज्नपर्ने बताए ।
धितोपत्र बजारमा बैंक वित्तीय संस्थाको बाहुल्यता रहेको तथा केन्द्रीय बैंकले ल्याउने सानोभन्दा सानो नीतिगत व्यवस्थाले पनि प्रभावित बनाउने भन्दै उनले यसमा ध्यान दिनुपर्ने उल्लेख गरे।
नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले ५० लाख लगानीकर्ताको चासो र चिन्ताको विषयमा छलफल गराएको जानकारी दिए । कोरोना महामारीपछि अर्थतन्त्रमा हरेक पक्षमा कर्जाको माग बढेको भए पनि अर्थतन्त्रको संरचनाले त्यसलाई सम्बोधन गर्न नसकेको उनले बताए ।
पछिल्लो समयमा ब्याजदरको वृद्धिले शेयर बजारमा नकारात्मक असर पारेको उनको भनाइ छ । बजारको परिपक्वता र स्थीरताका लागि विदेशी कम्पनीले नेप्सेको शेयर खरीद गर्ने, इन्ट्रा डे टे«डिङ, सर्ट सेल, संस्थापक शेयरलाई साधारण शेयर सरहको कारोबार आवश्यक रहेको उनको भनाइ थियो ।