युवा जनप्रतिनिधि भन्छन्– ‘नमुना पालिका बनाउँछौं’
कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकामा युवा प्रमुख/उपप्रमुख चुनिएका छन् । कांग्रेसबाट टिकट नपाएपछि शिवराज–३, खरेन्द्रपुरका ३३ वर्षीय अजय थापा उम्मेदवारी दर्ता गर्ने बेलामा राप्रपा प्रवेश गरेका थिए । पार्टीबाट विद्रोह गरेर दल बदलेका उनी शुक्रबार शिवराजको नगर प्रमुखमा विजयी भएका छन् । सुरुदेखि उनी युवाबीच लोकप्रिय थिए । यसपटक निर्वाचनमा युवाको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेको उनले बताए । ‘परम्परागत विचार र सोच भएकाबाट नयाँ र राम्रा योजना बन्न सकेनन्,’ उनले भने, ‘त्यसलाई चिर्न म निर्वाचित भएको हुँ ।’
उनले विपन्नलाई परिवर्तनको अनूभूति हुने गरी काम गर्ने योजना बनाएको बताए । ‘बेरोजगार युवा लक्षित योजना बनाउँछु,’ उनले भने, ‘कार्यान्वयन गरेर आयआर्जन र रोजगारीको अवसर सिर्जना गर्छु ।’ नगरपालिकाभित्रका खोलानालाबाट निकासी हुने नदीजन्य पदार्थको ठेक्कामा युवाले सेयर लगानी गर्ने वातावरण बनाउने उनले बताए । ‘त्यसबाट उनीहरू विदेशिनु पर्दैन,’ उनले भने, ‘घरमै बसेर आयआर्जन हुन्छ । साँझ बिहानको चुलोचौको मज्जाले चल्छ ।’ दोहन नगरीकनै युवाको सहभागिता हुँदा दुईदेखि तीन हजार युवाले रोजगारी पाउने उनले बताए । त्यस्तै कक्षा १२ सम्म सबैलाई निःशुल्क पढाउने र औद्योगिक क्षेत्रका रूपमा रहेको शिवराजमा उद्योगमैत्री वातावरण बनाएर रोजगारीको अवसर सिर्जना गर्ने उनले बताए । ‘उद्योग खोल्न प्रोत्साहित गर्छु,’ उनले भने, ‘नगरपालिकाबाट त्यहीअनुसार नीति बनाउन मेरो जोड हुनेछ ।’
०७४ मा नेकपा एमालेबाट उम्मेदवार भई मुलुककी कान्छी उपप्रमुख बनेकी शिवकुमारी चौधरी अहिले पुनः निर्वाचित भएकी छन् । दोस्रो पटक पनि शिवराजको नगर उपप्रमुखमा विजयी भएकी २८ वर्षीया उनले पाँच वर्षमा धेरै काम गर्न सिकेको बताइन् । अब महिलाले पनि गर्न सक्छन् भनेर देखाउने बेला आएको उनले बताइन् । ‘म अझै काम गर्न उत्तिकै उत्साही छु । जति निर्वाचन लड्दा, चुनाव जित्दा र पहिलो पटक नगरपालिका प्रवेश गर्दा थिएँ, अहिले पनि त्यसभन्दा कम उत्साह छैन,’ उनले भनिन्, ‘त्यसैले अब मैले श्रमिक महिलाको जीवनस्तर उठाउने योजना बनाएकी छु । दैनिक ज्याला मजदुरी गरी चुलोचौको गर्नेका लागि सीपमूलक तालिम सञ्चालन गर्छु । उनीहरूको मागअनुसार तालिम र रोजगारी सिर्जना गर्छु ।’ व्यवसायका लागि बीउ पुँजी पनि प्रबन्ध गर्ने योजना बनाएको उनले बताइन् । नगरपालिकाले बनाएको १० वर्षे बालविवाहविरुद्धको रणनीति कार्यान्वयन गरेर बालविवाह न्यूनीकरण गर्छु । ‘कक्षा १२ सम्म निःशुल्क शिक्षा भनिए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन,’ उनले भनिन्, ‘यसलाई प्रभावकारी बनाएर सबैमा शिक्षाको पहुँच बढाउँछु ।’ न्यायिक समितिलाई प्रभावकारी बनाएर महिला हिंसा न्यूनीकरण गर्ने उनले सुनाइन् ।