कोरियन भाषाको प्रश्नपत्र ११ गते
काठमाडौं-नेपालमा कोरिया जना चाहने नेपाली कामदारका लागि लिइने भाषा परीक्षा (केएलटी) को प्रश्नपत्र भदौ ११ गते आउने भएको छ । परीक्षा भदौ १२ र १३ गते काठमाडौंमा सञ्चालन हुँदै छ । ‘प्रश्नपत्र कोरियामा तयार पारेर नेपाल ल्याउन लागिएको हो,’ श्रम तथा यातायात व्यवस्था मन्त्रालय ईपीएस कोरिया शाखाका निर्देशक महेश आचार्यले बताए ।
कोरियन भाषा परीक्षामा ४२ हजार ७ सय परीक्षार्थी सामेल हुनेछन् । परीक्षाका लागि २९ केन्द्र तोकिएको निर्देशक आचार्यले जानकारी दिए । परीक्षामा सामेलमध्ये ४ हजार मात्र कोरिया जान पाउनेछन् ।
कोरियाले उत्पादनमूलक कामका लागि नेपाली कामदारको माग गरेको छ । कोरियन भाषा परीक्षामा बहुवैकल्पिक (वस्तुगत) प्रश्नहरू मात्र हुनेछ । परीक्षा २ सय पूर्णांकको हुनेछ । यसमध्ये १ सय पूर्णांकको परीक्षामा २५ वटा प्रश्न पढेर र बाँकी २५ वटा प्रश्न सुनेर उत्तर दिनुपर्छ । परीक्षा ३५/३५ मिनेट गरी कुल ७० मिनेटको हुनेछ ।
आर्थिक अभियान