सडक सञ्जालको लम्बाई साढे ६४ हजार किलोमिटर पुग्यो
काठमाडौं -मुलुकको कुल सडक सञ्जालको लम्बाई साढे ६४ हजार किलोमिटर पुगेको छ । चालु आर्थिक वर्ष आर्थिक सर्वेक्षण गरेको सरकारले फागुन मसान्तसम्म मुलुकभित्र प्रादेशिक तथा स्थानीयस्तरमा कच्ची, खण्डस्मित (ग्राबेल) र कालोपत्रे गरी कुल ६४ हजार ६१७ किलोमिटर सडक पुगेको हो । निर्मित सडकमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी २४.७६ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ५.११ प्रतिशत रहेको सरकारको भनाइ छ ।
यस्तै, प्रदेश नम्बर १ मा १३ हजार १२९ किलोमिटर (२०.३२ प्रतिशत), मधेश प्रदेशमा ६ हजार २ किलोमिटर (९.२९ प्रतिशत), गण्डकी प्रदेशमा ११ हजार ५७० (१७.९१ प्रतिशत), लुम्बिनी प्रदेशमा ९ हजार १३९ किलोमिटर (१४.१४ प्रतिशत) र सुदूरपश्चिम प्रदेशमा ५ हजार ४७५ किलोमिटर (८.४७ प्रतिशत) रहेको सरकारले बताएको छ ।
तर सडक घनत्वका हिसाबले सबैभन्दा बढी बागमती प्रदेशमा ०.७९ किलोमिटर प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम कर्णाली प्रदेशको ०.१२ किलोमिटर प्रतिवर्ग किलोमिटर रहेको छ ।