यसरी भेटियो हराइरहेको ट्विनअटर
म्याग्दी-जोमसोमका आइतबार बिहान उडेको तारा यएरको ९–एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानोसरे भीरमा फेला परेको छ ।
तस्बिर : नेपाली सेना
थासाङ गाउँपालिका–३ लेतेका सुमित गौचनले सोमबार बिहान दुर्घटनाग्रस्त विमान मानापाथी हिमालको फेदीमा मूलीखर्कको सरेभीरमा अन्दाजी ४ हजार २ सय मिटरमाथि क्षतविक्षत अवस्थामा फेला पारेका हुन् । गौचन अन्य स्थानीयसँगै दुर्घटनाग्रस्त विमान खोज्न निक्लेका थिए ।
अन्य साथीहरु आइतबार राति नै फर्के पनि गौचन यार्सा खोज्न गएका इशान गुरुङसमेतको टोलीसँग बास बसेका थिए । उनै इशान गुरुङले आइतबार विमान आफूहरुकै टाउकोमाथि उडेको र ठोक्किएको आवाज सुनेको तर बाक्लो कुहिरोले नदेखेको भनी प्रहरी प्रशासन र पालिका अध्यक्ष, वडाध्यक्षलाई खबर गरेका थिए ।
सोही आधारमा खोजीलाई मानापाथी हिमालमुनि केन्द्रित गरिएको थासाङ गाउँपालिका–२ कोवाङका वडाध्यक्ष गौतम शेरचनले बताए । कोवाङबाट तीन घन्टा माथि मानापाथी हिमालको फेदीमा पर्ने पहाडमा विमान ठोक्किएर क्षतविक्षत अवस्थामा स्थानीयले फेला पारेका हुन् ।
पोखराबाट आइतबार बिहान ९ : ५५ बजे उडेको विमान म्याग्दी खण्डमा पर्ने बफर जोन क्रस गरेपछि सम्पर्कविहीन भएको थियो । जोमसोम विमानस्थलमा बाक्लो बादल लागेकोले अवतरण गर्न नसकेपछि निलगिरी हिमाल मुनीको टिटी तालको आकाशबाट देब्रे मोडिएर मानापाथी हिमालपट्टी पुगेको र सोही पहाडमा ठोकिएको थियो ।