Connect with us
Kapilvast Forest

तारा एयर दुर्घटना : जहाजमा सवार सबैको मृत्यु

२०७९, १६ जेष्ठ सोमबारमा प्रकाशित

तारा एयर दुर्घटना : जहाजमा सवार सबैको मृत्यु
author-image
सुन्दरकुमार थकाली
समाज

१६ जेठ २०७९ ०९:३६

मुस्ताङ – तारा एयरको जहाजमा सवार २२ जनाकै मृत्यु भएको छ। जहाजमा रहेका चालक दलका ३ सदस्य र १९ जना यात्रु सबैको मृत्यु भएको घटनास्थलमा खटिएका एक प्रहरीले अन्नपूर्णलाई जानकारी दिएको छ। अहिले नेपाली सेना, प्रहरी र घटनास्थलमा पुगेका स्थानीयको टोलीले शव संकलन गरिरहेको छ।

 

घटनास्थलमा रहेका थासाड गाउँपालिका वडा नम्बर ३ का स्थानीय युवा सुमित गौचनले घटनास्थलमा कोही पनि जिवित नभेटिएको बताएका छन्। उनले अन्नपूर्णसँग भने, ‘अहिलेसम्म १२ जनाको शव भेटिएको छ। अरुको खोज्दै छौं।’ उनले शवहरु क्षतविक्षत अवस्थामा भेटिएको बताए।

आइतबार बिहान १०:१० बाट सम्पर्क विच्छेद भइ मुस्ताङको आकाशमा हराएको तारा एअरको ९ एन एईटी जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। जहाज थासाङ–२ को मानापाथी हिमालको फेदमा सानो सरे भन्ने स्थानको पहाडमा भेटिएको थियो । जहाजमा चालक दलका ३ सदस्य, यात्रुहरु दुई जर्मन नागरिक, चार भारतीय र १३ नेपाली थिए। जहाज आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोम उडेको थियो। जहाजमा पाइलट प्रभाकर घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयरहोस्टेज किस्मी थापा थिए। जहाजमा दुई जर्मन नागरिक वी विलनर र मेइक ग्रिटग्राफ थिए। साथै भारतीय नागरिक बान्देकर वैसवी,अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी र ऋतिका त्रिपाठीसमेत सोही जहाजमा थिए।

यस्तै,जहाजमा नेपाली नागरिक इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ सवार रहेका नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ।

बेपत्ता भएको जहाज समुन्द्री सतहदेखि माथि झन्डै ४ हजार मिटर उचाइमा दुर्घटना भएको थियो। थासाङको मानापाथी हिमालको फेद नजिक याकखर्क भन्ने स्थानमा यार्सा टिप्न गएका ९ जना टोली र लेतेबाट गएका स्थानीय युवा सुमित गौचनको टोलीले सोमबार दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटेका हुन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu